भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्दै

                                                                                                                  फाइल तस्वीर-

धनगढी। भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ ।यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

 

 

विगत १५ दिनयता प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

सोही अवधिमा संक्रमणका कारण थप सात जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

 

 

पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४७९ जनामा संक्रमण देखिएकामा हाल त्यो संख्या बढेर ५६ हजार ७९७ पुगेको छ । मृतक ६१४ जना रहेकामा हाल बढेर ६२१ जना पुगेको छ ।

 

 

 

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो । हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना संक्रमण देखिन थालेको छ ।

 

 

भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, दत्तु, खलंगा, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको छ ।

 

 

भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन ।

 

 

साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले संक्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

 

 

उनले भने, ‘परीक्षण बढेकाले संक्रमणदर पनि बढेको देखिएको छ, माघी र भारतका केही शहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले संक्रमणदर बढेको हो ।

 

 

भारतमा ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यस प्रदेशमा मंगलबार चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ ।

 

 

 

उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, संक्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ । साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौँ ।

 

 

 

सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतकोभन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ ।

 

 

 

यसका साथै कोभिड–१९ सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ ।

 

 

 

सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ७३ हजार २९७ जनाको कोरोना परीक्षण गरिएकामा ५६ हजार ७९७ जनामा संक्रमण भइसकेको छ ।

 

 

 

संक्रमणकै कारण यस प्रदेशमा ६२१ जनाको ज्यान गएको छ । प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत परीक्षण कार्य जारी छ ।रासस,