टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न मन्त्री कार्कीको निर्देशन

काठमाडौँ ।नेपाल टेलिकमलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

 

 

 

नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

 

 

 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, “जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको छ, यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेछ ।

 

 

 

 

उहाँले सरकारले अघि सारेका नीतिनियम र कानूनको अवलम्बन गर्दै नेपाल टेलिकमले देशको आर्थिक, सामाजिक क्षेत्रमा पु(याएको योगदानको प्रशंसा गर्नुभयो ।

 

 

 

मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइवरको जतिसक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै मुलुकका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्रगतिको इन्टरनेट सेवा पु-याउनुपर्नेमा जोड दिनुभयो ।

 

 

 

उहाँले टेलिकमले आफ्ना सेवाहरुलाई समयसापेक्ष परिवर्तन गरी लैजानुपर्ने बताउँदै कम्पनीको समग्र विकास र विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

 

 

 

मन्त्रालयका सचिव तथा टेलिकमका बोर्ड अध्यक्ष डा बैकुण्ठ अर्यालले ग्राहक मात्रै बढाउनेभन्दा पनि गुणस्तरीय सेवा विस्तारमा जोड दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभयो ।

 

 

 

उहाँले भन्नुभयो, “अहिले मोबाइलको नेटवर्कको समस्या छ, सेवा विस्तार गुणस्तर कस्तो छ, त्यो महत्वपूर्ण हुन्छ, ग्राहक बढाएसँगै गुणस्तर पनि बढाउनुपर्छ ।

 

 

 

आजभन्दा १८ वर्षअघि स्थापना भएको सो कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकामा २०७८ साल मङ्सिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ ।

 

 

 

 

टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले हाल मुलुकको करिब ७५ प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी दिनुभयो ।

 

 

 

 

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कूल आय रु ४२ अर्ब २१ करोड पुगेको छ । कम्पनीको खुद मुनाफा रु सात अर्ब १३ करोड भएको बताइएको छ ।

 

 

 

चालु आवको पुस मसान्तसम्म कम्पनीले रु २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.७५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।