एमसीसी फिर्ता लैजाऊ भन्दै अमेरिकी सरकारलाई वामदेव गौतमको आग्रह
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहनु भएका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून भएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गर्नुभएको हो । उहाँका अनुसार विवादित परियोजनाले नेपालको अहित गर्नेछ ।
मंगलबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भन्नुभएको छ, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ ।
नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।
नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ ।
उहाँले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताउनु भएको छ ।
एमसीसी परियोजनाका कारण सत्तारूढ पाँचदलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति आएको हो ।