एमसीसीलाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराख्नु पर्छ भन्ने छैनः नेता विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्ने गरी एमसीसीको विषयलाई गिजोलिएको टिप्पणी गरेका छन्।

 

 

मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा नेता विश्वकर्माले एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनले बताए।

 

 

 

उनले भने, ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैले प्रयास गरेर, आफैले मागेर, आफै प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी बिमति र फरक–फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनि महशुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो।

 

 

 

 

र जुन–जुन दलहरु त्यसमा सम्वद्ध हुनुभएको छ, आफैले गरेका कामहरुका बारेमा आफैले टिप्पणी गरेर फरक मत राख्नुभएको छ, त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ।

 

 

 

आम नेपाली जनताको पनि यो अनुरोध छ। यतिमात्रै होइन, यो विषयलाई आफूले निर्णय दिन नसक्नु त छँदैछ, तर नानाथरीका भ्रमहरु सिर्जना गरेर प्रचारबाजी जसरी गरिएको छ, यो प्रचारबाजीले मुलुकलाई, जनतालाई र यो मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको छ। यो दुर्भाग्यपूर्ण छ।

 

 

 

नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताए।

 

 

 

 

राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्‍‍याउनुपर्नेमा उनले जोड दिए। उनले गठबन्धनलाई जिवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्‍याउन चाहेको स्पष्ट पारे। राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताए।

 

 

 

उनले भने,‘राष्ट्रिय सरोकारका मुद्दाहरु चाहीँ यथास्थितिमा रहने, त्यो कुनैपनि निष्कर्षमा नपुग्ने, तर गठबन्धन चाहीँ जोगाइरहनुपर्छ अथवा गठबन्धन टुट्छ कि, गठबन्धन बिग्रिन्छ कि भनेर राष्ट्रिय मुद्दालाई यथास्थितिमा लथालिङ्ग छोडेर गठबन्धन जोगाइ राख्दाखेरी जनताले हामीलाई पत्याउँदैनन्।

 

 

 

 

त्यसो भएको हुनाले जनताले पत्याउने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले नेपाललाई पत्याउने गरीको भूमिका निर्वाह गर्नु भनेको राष्ट्रिय पेचिला मुद्दाहरुलाई, राष्ट्रिय सरोकारका मुद्दाहरुलाई टुंगोमा पुर्‍याउनु हो।

 

 

 

 

त्यो टुंगोमा पुर्‍याउनका लागि हामी गठबन्धनलाई पनि जिवित राख्दै, गठबन्धनलाई क्रियाशिल राख्दै, गठबन्धनलाई साथसाथै लिएर जाँदै यी मुद्दाहरु टुंग्याउन चाहन्छौँ।

 

 

 

तर कथम् कदाचित यी मुद्दाहरुलाई पन्छाएर गठबन्धन जोगाऔँ भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहँदैन। त्यसो भएको हुनाले एक्लैले त कुनैपनि सरकार बन्दैन।

 

 

 

 

एक्लै दलको बन्दै बन्दैन यतिबेला निर्वाचन अगाडि। त्यसैले कुनै न कुनै गठबन्धनबाट भएपनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ। मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ। हामी त्यो बारेमा पनि सोच्दैछौँ।

 

 

 

 

उनले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताए। निर्वाचनलाई शतप्रतिशत निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उनको भनाइ छ।