कर्णाली करिडोरमा रहेका घरटहरा खाली गर्न प्रशासनको निर्देशन,नहटाए बलप्रयोग गर्ने

काठमाडौं। कर्णाली करिडोर अन्तर्गत कालीकोट खण्ड सुधारको लागि घरटहरा खाली गर्न जिल्ला प्रशासन कार्यालय कालीकोटलगायतले सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।

 

 

 

उक्त सडकखण्ड सुधारका लागि दुई वटा ठेक्का भएको र काम गर्न निर्माण व्यवसायी निर्माणस्थलमा आइसकेकाले सडकको क्षेत्र खाली गराउन यस्तो निर्देशन दिएको हो ।

 

 

 

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा नेतृत्वको एक टोलीले करिडोरको केही दिनअघि कालीकोट खण्डको अनुगमन गदै अतिक्रमित सडक तत्काल छोड्न र बाँकी बनाउन थालिएका घरटहरा पनि नबनाउन सुझाव दिएको हो ।

 

 

 

 

कर्णाली करिडोर आसपासमा स्थानीयले घरटहरालगाएत सडक क्षेत्र अतिक्रमण सुरु गरेपछि प्रशासनले सडक अतिक्रमण नगर्न अतिक्रमित क्षेत्रमै पुगेर निर्देशन दिएको हो ।

 

 

 

 

टोलीमा सडक डिभिजन कार्यालय सिम्कोट हिल्साका कर्मचारी निर्माण कम्पनीका प्रतिनिधि, जिल्लाका पत्रकार र अन्य सरोकारवाला सहभागी रहेका थिए ।

 

 

 

करिडोरको लालीघाट, खुलालु, रेगिल, सान्नीघाट, भुरावगर, जारकोटलगायतका स–साना बजारमा सडक अतिक्रमण गरेर स्थानीयले घरटहरा बनाएर व्यवसाय सुरु गरिरहेका छन् ।

 

 

 

तत्काल सडक थप सुधार गर्नुपर्ने भएकाले स्थानीयले लगानी खेर जाने भन्दै सडकको जमिनभन्दा बाहिर मात्र घरटहरा बनाएर आफ्नो व्यवसाय सुरु गर्न सुझाव दिएको हो ।

 

 

 

 

प्रमुख जिल्ला अधिकारी शर्माले सडक निर्माणमा अवरोध हुनेगरी लगाइएका टहरा हटाउन सुझाव दिँदै आफँै समयमा नहटाएमा प्रशासनले बलप्रयोग गर्ने बताउनुभयो ।

 

 

 

 

उहाँले सडक फराकिलो बनाउन ठेक्का भइसकेकाले निर्माणमा अवरोध नगर्न स्थानीयलाई राम्रोसँग सुझाव दिएको बताउनुभयो ।

 

 

 

सडक डिभिजन कार्यालय सिम्कोट, हिल्साले पनि तत्काल काम सुरु हुने भएकाले सडकमा लगाइएका घरटहरा खाली गरिदिन स्थानीयलाई आह्वान गरिसकेको छ ।