ललितपुरमा फागुन १५ देखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता शुरू

ललितपुर ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ललितपुरमा यही फागुण १५ गतेदेखि परिचयपत्र वितरणका लागि विवरण दर्ता शुरू गर्ने तयारी गरेको छ ।

 

 

विभागका निर्देशक ललितकुमार बस्नेतका अनुसार विभागले शुरूमा ललितपुरको गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा विवरण दर्ता थालनी गर्नेछ ।

 

 

 

उहाँले ती स्थानीय तहका वडाहरूबाटै विवरण दर्ता कार्य गरिने र त्यसपछि महानगरपालिकामा दर्ताको कार्य अघि बढाउने तयारी रहेको जानकारी दिनुभयो ।

 

 

 

राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । विद्युतीय राहदानी लिनका लागि अनलाइन आवेदन दिनुभन्दा अघि राष्ट्रिय परिचयपत्र नम्बर दर्ता गराउनुपर्नेछ ।

 

 

 

यसले गर्दा परिचयपत्र नम्बर लिन आउनेहरूको भीड निकै बढेको छ । त्यससँगै तत्काल राहदानी आवश्यक नभएका सेवाग्राहीहरूले समेत राष्ट्रिय परिचयपत्र नम्बर लिन खोज्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतका ठाउँमा ठूलो भीड लाग्ने गरेको छ ।

 

 

 

 

यस्तो अवस्थामा सेवाग्राहीको सहजताको लागि ललितपुरमा वडामै स्टेसन राखेर परिचयपत्रका लागि विवरण दर्ता गराउने तयारी अघि बढाएको विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताउनुभयो ।

 

 

मंगलबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा महानिर्देशक भट्टराईले भन्नुभयो– ‘वडामै दर्ता गराउने कार्य शुरू भएपछि अहिले प्रशासनमा देखिएको भीड कम हुनेछ ।

 

 

 

वडावडामा स्टेसन राख्ने कार्यमा सहजीकरण गरिदिन पनि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई आग्रह गर्दछु ।

 

 

 

विभागले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडामा दर्ता अपरेटरहरू खटाउने जानकारी दिँदै उहाँले भन्नुभयो–‘प्रत्येक वडामा दुईवटा स्टेसन राखेर दर्ता कार्य शुरू गर्ने लक्ष्य राखेका छौं ।

 

 

 

विवरण दर्ताको कामको सूचना स्थानीयबासीमा पुर्याउन, प्रविधिको सुरक्षा, दर्ताको फारम रुजु गर्नेलगायत विषयमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउँदै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो– ‘स्थानीय तहका प्रमुख, सम्बन्धित वडाका जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन दर्ता शुरू गर्नुभन्दा अघि छलफल एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।

 

 

राष्ट्रिय परिचयपत्र वितरण प्रभावकारी बनाउन सम्बन्धित जिल्लाको प्रशासन कार्यालयलाई समन्वयको इकाइको रूपमा तोकिएको छ ।

 

 

 

 

कोरोना संक्रमण दिनप्रतिदिन फैलिएको भन्दै कञ्चनपुर र झापासँगै र ललितपुरमा विवरण संकलन कार्य गत वर्ष मंसिरमा अनिश्चतकालको स्थगित गरेको थियो ।

 

 

 

 

ललितपुरमा अहिले पुनः सञ्चालन गर्न लागिएको हो । हालसम्म करिब ५२ लाख नागरिकको वैयक्तिक र जैविक विवरण कार्य संकलन भइसकेको पनि विभागले जनाएको छ ।