काँग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिनाको नेतृत्वमा साँफे-मार्तडी-कोल्टी-धुलाचौर सडक खण्ड मर्मत गर्न योजना आयोगका उपाध्यक्षको ध्यानाकर्षण

काठमाडाैं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिना सहितको टोलिले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाइ भेटेर साँफे-मार्तडी-कोल्टी धुलाचौर सडक खण्ड मर्मत गर्न ध्यानाकर्षण पत्र बुझाउनु भएको छ।

 

 

यस्तो छ उहाँले बुझाउनु भएको ध्यानाकर्षण पत्र – उपरोक्त विषयका सम्बन्धमा बाजुरा, मुगु र हुम्ला जिल्लाको मुख्य बाटोको साथै कालिकोट समेतलाई जोड्ने साँफे – मार्तडी – कोल्टी सडकखण्ड दुई दशक बितिसक्दा पनि पक्की हुन नसक्दा यात्रुलाई आवागमनमा मर्का परिरहेको छ।

 

बाटो कालोपत्रे नहुँदा बर्षाको समयमा सदरमुकाम मार्तडीबाट पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । सडकखण्डमा जिल्ला बाहिर तथा ग्रामीण सडकबाट यातायात सेवा नियमित हुन सकिरहेका छैनन् ।

 

 

जब बर्खाको समय लाग्छ तब यातायात सेवा नियमित नभएपछि दैनिक उपभोग्य समान पनि सर्वसुलभ मूल्यमा प्राप्त हुन सक्दैन । त्यति मात्रै होइन बर्षादमा समान ढुवानीका लागि खच्चड समेत चल्न नसक्ने भएकाले स्थानीय बजारमा समानको अभाव र महँगी बढ्ने गरेको छ ।

 

 

त्यसैले पनि व्यापारीहरुले अधिकांश समान स्टक गरेर राखिसकेका हुन्छन् । बर्षातले सडक ठाउँठाउँमा भासिने, भत्किने र ढुङ्गाले पुरिने अवस्था छ ।

 

 

 

जोखिम मोलेरै भए पनि जिप ट्याक्टर सञ्चालन भइरहेका छन् । वि.स. २०५१ मा अछामको साँफेबगरबाट बाजुरा सदरमुकाम मार्तडीसम्मको ५७ किलोमीटर सडकको शिलान्यास गरिएको २२ वर्षपछि बस सेवा सञ्चालन भएको थियो ।

 

 

अहिले पनि बर्खाले पक्की सडक भत्काएपछि ५७ किमी सडकमध्ये करीब ५ किलोमीटर सडकमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।