राष्ट्रिय स्वधीनताको लडाईमा उत्रिन आदिवासी जनजाति महासंघको आम जनतालाई आव्हान
काठमाडौं । अखिल नेपाल जनजाति महासंघले सम्पूर्ण क्रान्तिकारी देशभक्त आदिवासी जनजाति, दलित, मधेसी, महिला, मुसलीम लगायत विभिन्न वर्ग समुदायका आम जनताहरुलाई फेरि एकचोटी यो राष्ट्रिय स्वधीनताको लडाईमा उत्रिन हार्दिक आव्हान गरेको छ । महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले जारी गरेको वक्तव्यमा यस्तो आव्हान गरिएको हो ।
वक्तव्यमा भनिएको छ, “युगौँदेखिको सामान्ति उत्पीडन र औपनिवेशीक उत्पीडनबाट देश र जनतालाई मुक्त गरी राजकीय सत्ता र सर्वभौम सत्ता जनतालाई सुम्पी देशलाई स्वाधीन, स्वतन्त्र र अखण्ड राख्न नेपाली जनताको वलिदनीपूर्ण संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ बर्ष पूरा भैसकेको छ।
तर अहिले प्रतिक्रियावादी राज्य सत्ताका नाइके शेरबहादुर देउवाले गठबन्धन सरकारका घटक दलका शिर्ष नेताहरुलाई सत्ता स्वार्थ र चुनावको प्रलोभनमा पारी साम्राज्यवादी अमेरिकाद्वारा लादिएको एमसीसी सम्झौता प्रस्ताव संसदबाट पास गर्नका लागि संसदमा दर्ता गरी देश र जनताप्रति ठूलो घात गरेको छ ।
यो एमसीसी परियोजना नेपालको भौतिक पूर्वधार विकास (बिद्धुत र सडक) को लागि अमेरिकाले नेपाललाई प्रदान गरेको विकास अनुदान हो भनिए तापनि यो पेरियोजना संग अमेरिकाको सैन्य स्वार्थ जोडिएको छ।
यो पेरियोजना अमेरीकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग भएकोले नेपालमा यो परियोजना लागु गरेर अमेरिकाले नेपालको भूमिबाट हाम्रो छिमेकी मुलुक चीनको गतिबिधि नियाल्न र चीनलाइ लक्षित गरी सैनिक गतिविधि संचालन गर्न चाहन्छ ।
यदी यसो भयो भने प्रतिउत्तरमा चीनवाट पनि जवाफी हमला हुन सक्ने हुनाले त्यस्तो स्थितिमा नेपाल दुई शक्ति राष्ट्रहरुको रणमैदानमा परिणत हुनेछ र हाम्रो मुलुकको अस्तित्व समाप्त हुने छ ।
साथै एमसीसी नेपालमा लागु भयो भने यसका प्रावधानहरु नेपालको विद्यमान नियम, कानुन र संबिधान भन्दा माथि हुने छ, जसले नेपालको सर्भाभौमिकता र राष्ट्रिय स्वाधिनता नै धरापमा पर्ने छ।
यी लगायत एमसीसी का धेरै प्रावधानहरु राष्ट्रघाती छन् । लोकतन्त्रमा जनताको सर्वोच्चता हुने हुनाले जनताको भावना, मर्म र मुलुकको सर्वोपरि हितमा राजनितिक पार्टी, नेता र संसदहरुले काम गर्नु पर्ने नैतिक दायित्व र कर्तव्य हुने भएकोले एमसीसीपरियोजना जस्तो राष्टघाती सम्भौताको विपक्षमा मतदान गरी राष्ट्रघाती एमसीसी सम्झौतालाई लाइ संसदबाट खारेज गर्न सम्पूर्ण देशभक्त जनताका प्रतिनिधी सांसदहरुलाई हार्दिक अपिल गर्दछौ ।
यदि जनताको भावना र चाहना तथा देशको हीत बिपरित राष्ट्रघाती एमसीसीको पक्षमा मतदान गरी पास गराएमा त्यस्ता राष्ट्रघाती दलालहरुको हिसाब किताब जनताले अवश्य राख्ने छन् भन्ने कुराप्रति पनि सम्बन्धित सबैलाई समयमै सचेत गराउन चाहन्छौ ।
यतिबेला देशको राष्ट्रिय स्वाधीनता र सार्बभौमिकता अत्यन्तै जोखिममा परेको छ । साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले विभिन्न बहानामा नेपाल र नेपालको भूमिमाथि चारैतिरबाट अतिक्रमण गरीराखेको छ।
त्यसैले देशको राष्ट्रिय स्वधिताता र सार्बभौमिकताको रक्षा गर्न तथा नेपालको अतिक्रमित भूमि फिर्ता गर्न नेपालका भूमि पुत्र भनी दावी गर्ने हामी आदिवासी जनजातिहरु राष्ट्रघाती एमसीसीको बिरोधमा चलिराखेको राष्ट्रिय स्वाधिनताको संघर्षमा आफ्ना विशिष्ट पहिचानसहित समाहित हुनु अत्यावश्यक छ ।
देश रहे मात्र हामीले हाम्रो पहिचानसहितको अधिकार र जातीय स्वायत्तता प्राप्त गर्न सक्छौ । अन्यथा हामीले हामी यो देशको भूमि पुत्र भनी दावी गर्नुको कुनै अर्थ हुने छैन ।
अतः नेपाली जनताको गौरवमय गाथालाई पुनः स्मरण गर्दै सम्पूर्ण क्रान्तिकारी देशभक्त आदिवासी जनजाति, दलित, मधेसी, महिला, मुसलीम लगायत विभिन्न वर्ग समुदायका आम जनताहरु फेरि एकचोटी यो राष्ट्रिय स्वधीनताको लडाईमा उत्रिन हाम्रो गौरवशाली संगठन अखिल नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट हार्दिक आव्हान गर्दछु ।