एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो, सम्भवतः आजै पास हुन्छ: कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताउनु भएको छ ।

 

 

सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उहाँको भनाइ छ ।

 

गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिनुभयो।

 

 

सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि कांग्रेस एमालेसँग नजिकिन लागेको हो ।

 

 

नेता विश्वकर्माले आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी सदनमा कसरी प्रवेश गर्ने भन्नेबारे सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

 

 

आज सहमति भएर संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र सकेसम्म आजै एमसीसी अनुमोदन हुन सक्ने उहाँको भनाइ छ ।

 

 

आज प्रतिनिधिसभाको दुईवटा बैठक बसेर भए पनि एमसीसी पास हुन सक्ने उहाँले बताउनु भयो । ‘सभामुखको स्वार्थ नमिले पनि सरकारले सदनमा अघि सारेको बिजनेस रोक्न मिल्दैन,’ विश्वकर्माले भन्नुभयो ।