बालकोट बैठक सकियो: एमालेको शर्त १४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । शुक्रबार साँझ ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेताहरु बालकोट पुगेका थिए ।
शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसेको थियो ।
कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका थिए ।
प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ ।
नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।
एमाले नेताहरुले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । ‘स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले ससदनमा छलफल गर्ने वातावरण बनाउनुपर्यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।
सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ ।