अदुवाखेतीमा किसानको आकर्षण बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले बताएको छ ।

 

 

 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए ।

 

 

 

आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए ।

 

 

 

त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा ९ हजार ८०० मेट्रिक टन उत्पादन भएको उनको भनाइ छ ।

 

चालू आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा ९ हजार ९५० मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

 

 

 

अदुवाखेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए ।

 

 

 

जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १० दशमलव ३७ मेट्रिक टनदेखि १० दशमलव ८९ मेट्रिक टन मात्र रहेको पौडेलको भनाइ छ ।

 

 

 

 

जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा विक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर विक्री गर्ने गरिएको जानकारी दिए ।

 

 

 

 

अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवाखेतीमा आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवाखेती राम्रो हुने गरेको छ । रासस