माओवादी केन्द्र फुट नजिक : नारायणकाजीलाई प्रचण्डको आग्रह – पार्टीबाट अलग नहुनुस्

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ। छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बतायो ।

 

 

 

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् ।

 

एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको छ ।

 

 

 

आज बिहानक‍‍ो छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गरेका थिए । तर श्रेष्ठले,मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नुभएको छ, भनेको स्रोतले बतायो ।

 

 

 

यसबीचमा नारायणकाजी श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल समेत गरेको श्रेष्ठ निकट एक नेताले बताए ।