स्थानीय तह निर्वाचनबारे राजनीतिक दलसँग छलफलमा आयोग
काठमाडौं।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल गर्ने तयारीमा निर्वाचन आयोग जुटेकाे छ।
शुक्रवार हुने छलफलमा आयोगले राजनीतिक दलहरूलाई हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो,’ उनले भने‚ ‘यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो।
आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए। उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो।