सुदूरपश्चिमका ९ वटै जिल्लामा कांग्रेसले चुनाव केन्द्रित अभियानमा केन्द्रीय सदस्य खटायो (नामसहित)
काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन गर्न लागेको चुनाव केन्द्रित प्रचारप्रसार अभियानका लागि सुदूरपश्चिममा पनि केन्द्रीय सदस्य खटाएको छ ।
कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी यही २९ गते फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको हो ।
सो अभियान यहि फागुन २९ गतेदेखि आगामी चैत्र २९ गतेसम्म हुने जनाइएको छ । अभियानका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा खटाइएका केन्द्रिय प्रतिनिधि यहाँ पुगिसकेका छन् ।
यहाँ खटाइएका केन्दीय प्रतिनिधिहरुमा बैतडीका लागि यज्ञराज जोशी , डडेल्धुरामा ईश्वरी न्यौपाने, कैलालीमा गोविन्द बहादुर शाह,कञ्चनपुरमा नैन सिंह महर, बझाङमा रमेश लेखक , अछाममा सिता कुमारी राना , बाजुरामा अर्जुनजंग बहादुर सिंह , दार्चुलामा अरुण राठौर र डोटीमा किरण गिरी रहेका छन् ।
फागुन २९ गते सदरमुकाममा एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरिने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो, आगामी चुनावलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेका हौं । कांग्रेसको सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्याउन सहयोग गर्र्छ । कांग्रेसको पक्ष जनमत जुटाउन पनि सहयोग पुग्छ ।
स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।
नेपाली कांग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने समेत बताइएको छ ।