काँग्रेसको ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न, संस्थापन पक्ष बलियो
काठमाडौं ।नेपाली काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ ।सबै जिल्लामा नेतृत्व चुनिएका छन् ।
करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ ।
यस पटकको अधिवेशनमा काँग्रेसभित्र परम्परागत गुटहरु भत्किए भने नयाँ समूह बनेको थियो । सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुबै पक्षले कतिपय जिल्लामा एउटै उम्मेदवार बनाउन नसक्दा आपसमै प्रतिष्पर्धा भएकोथियो ।
गत मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको काँग्रेसले महाधिवेशन अगाडि ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेकोथियो । बाँकी १६ जिल्लाका अधिवेशन भने हालै सकाएको हो ।
६१ जिल्ला अधिवेशन सम्पन्न गर्दा देउवा र रामचन्द्र पौडेल पक्ष बनेर देशभर प्रतिष्पर्धा गरेका काँग्रेसीहरु महाधिवेशनमा देउवासँग कोइराला भिडेपछि बाँकी जिल्लामा देउवा–कोइराला पक्ष बनेर मैदानमा उत्रिएकाथिए ।
महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले देउवालाई सघाउँदा उम्मेदवारी नपाएपछि पौडेल मौन बस्नुभएको थियो । पहिलो चरणमा देउवा, कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहबीच सभापतिमा प्रतिष्पर्धा भएकोथियो ।
दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुँदा निधि र सिंहले देउवालाई समर्थन गरेकाले उहाँ विजयी बन्नुभएको थियो ।
सिटौला, निधिसहित सभापति देउवा पक्षमा ४४ जिल्ला सभापति विजयी हुँदा कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन् । गोरखा, मनाङ, मुस्ताङलगायत केही जिल्लाका सभापति भने सर्वसम्मत चुनिएकाथिए ।
यसैबीच, आइतबार सम्पन्न बारा जिल्लाको अधिवेशनबाट सभापतिमा राजेश राय यादव निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा यादवले १२ सय ६ मत ल्याई शम्भुबहादुर बुढाथोकीलाई पराजित गर्नुभएको हो ।
उता, सिन्धुपाल्चोकमा भने दोस्रो चरणमै जंगबहादुर तामाङले वंशलाल तामाङलाई ६४ मत अन्तरले पराजित गर्नुभयो ।