होलीमा जबरजस्ती लोला हान्ने र रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौं । होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ ।

 

 

 

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

 

 

 

 

कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा खुलेर होली पर्व मनाउन नपाएकाले यो वर्ष भिडभाड बढ्न सक्ने प्रहरी बुझाइ छ । काठमाडौंका दर्जनौँ स्थानमा होलीका दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएका छन् ।

 

 

 

 

यो वर्षको होली पर्व काठमाडौंसहित पहाडी र हिमाजी क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ । होलीमा काठमाडौंमा १७ सय प्रहरी प्रत्यक्ष परिचालन हुनेछन्।

 

 

 

 

यसबाहेक रिजर्भ फोर्स समेत हुनेछ । वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ ।

 

 

 

 

जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् । होली सुरक्षाको कमान्ड डीएसपी र इन्सपेक्टरले गर्ने प्रहरी तयारी छ ।