एकीकृत समाजवादीले गर्यो केन्द्रीय नेताहरुको नेतृत्वमा अनुगमन टोली गठन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका सातवटै प्रदेश कमिटीको गतिविधिको अवस्था बुझ्न केन्द्रीय नेताहरुको नेतृत्वमा अनुगमन टोली गठन गरेको छ।
बिहीबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको गतिविधिलाई प्रभावकारी बनाउनका लागि सात वटै प्रदेश कमिटीको गतिविधिको अनुगमन गर्ने निर्णय गर्दै अनुगमनका लागि केन्द्रीय नेताहरुको नेतृत्वमा टोली गठन गरेको हो।
जसअनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमति प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राइ, लुम्विनी प्रदेशमा उपमहासचिव बिजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुषाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झाको नेतत्वमा अनुगमन टोली बनाइएको हो ।
बैठकले स्थानीय तह निर्वाचनको नारा जनतामा जाँउ एकीकृत समाजवादीलाई जिताऔं भन्ने तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले आगामी निर्वाचनका तालमेलका लागि पार्टी खुल्ला रहेको पनि बताए । त्यस्तै उनले आगामी निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड निर्माण गरिरहेको उल्लेख गरे ।
बैठकमा गठबन्धन र केन्द्रीय कमिटी निर्णयका बारेमा पनि छलफल भएको खतिवडाले बताए । त्यस्तै उनले संगठन निर्माणको अभियानलाई चूनाव प्रसारको अभियानसँग जोड्ने जानकारी दिए ।