नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.६७ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर २६१६.५८ अंकमा बन्द भएको छ।
गएको आइतबार १०० अंकभन्दा माथिले वृद्धि भएको नेप्से सोमबार ब्रोकर डाटा सेन्टरमा समस्यापछि दुई घण्टा पनि कारोबार नभई बन्द भएको थियो । मंगलबार र बुधबार दोहोरो अंकको गिरावट भएको नेप्सेमा बिहीबार कारोबार बन्द भयो। आज पनि घटेर बन्द भएको छ ।
नेप्सेसँगै लगानीबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकसँगै नेप्सेमा कारोबार रकम पनि घटेको छ ।
आइतबार दिनभरमा बजारमा कुल दुई अर्ब २७ करोडको सेयर कारोबार भएको छ । गएको आइतबार पाँच अर्बनजिक रहेको कारोबार रकम मंगलबार तीन अर्बमाथि र बुधबार साढे दुई अर्ब नाघेको थियो ।
आज बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १६ करोडको सेयर कारोबार हुँदा जीवा विकास लघुवित्तको १३ करोड र नेपाल दूरसञ्चार कम्पनीको करिब ९ करोडको सेयर कारोबार भएको छ ।
आज दिनभर बजारमा कुल १९३ कम्पनीको सेयर कारोबारमा आएकामा १६३ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । २४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा पाँच कम्पनीको स्थिर छ ।
आज कारोबार भएका मध्ये राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४.८९ प्रतिशतले बढेको छ ।
यस्तै, मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ३.७६ प्रतिशतले गिरावट हुँदा शिवश्री हाइड्रोपावरको ३.३१ प्रतिशत र प्रभु लाइफको सेयर मूल्य २.२९ प्रतिशतले गिरावट भएको छ ।