एमसीसी सम्झौताविरूद्ध क्रान्तिकारी माओवादीसहितका ६ पार्टी र २ मोर्चा सम्बद्ध जातीय,क्षेत्रीय मोर्चाहरुको विरोधसभा सम्पन्न

काठमाडौं ।नेकपा (क्रान्तिकारीमाओवादी)सहितका ६ राजनीतिक दल र २ मोर्चा सम्बद्ध जातीय र क्षेत्रीय मोर्चाहरुले काठमाडौँको रत्नपार्क स्थित शान्तिवाटिकामा राष्ट्रघाती एमसीसीका विरुद्ध बिरोध सभा सम्पन्न गरेका छन् ।

 

 

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल आदिवासी जनजाति महासंघसहितका जातीय क्षेत्रीय मोर्चाहरुले संयुक्त रुपमा आयोजना गरेको विरोभसभालाई प्रमुख वक्ताको रुपमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्बोधन गर्नुभएको थियो ।

 

 

आफ्नो विरोध मन्तव्यको क्रममा उहाँले एमसीसी अमेरिकी साम्राज्यवादले नेपालको दलाल गठबन्धन सरकारलाई पहिला पहिला फकाएर फुलाएर र पछि धम्काएर नेपालमा लादेको राष्ट्रघाती सम्झौता हो । यो सम्झौता नेपाल र नेपाली जनताको हक हितमा नभएकोले यसको सर्बत्र विरोध भैरहेको छ ।

 

 

 

यस्तो देश बिरोधी र जनबिरोधि सम्झौता यो देशका दलाल सरकारले १२ बुँदे ब्यख्यात्मक घोषणाको खोल ओढाएर संसदबाट अनुमोदन गराएता पनि नेपाली जनताले यसको अनुमोदन गरेका छैनन् । त्यसैले नेपाली जनताले यो सम्झौता खारेजी गरी छाड्ने छन् भन्ने ठोकुवा गर्नु भयो ।

 

 

अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले सन् १८१६ को सुगौली सन्धिदेखि बेलायती साम्राज्यवादको अर्ध औपनिबेसिक उत्पीडन भोग्दै आएको नेपालले फागुन १५ गते प्रतिक्रियावादी राज्यसत्ताको नाइके शेरबहादुर देउवाले राष्ट्रघाती एमसिसी सम्झौता पारित गराएपछि अमेरिकी साम्राज्यवादको थप उत्पीडन पनि भोग्ने कुरा सुनिश्चित छ भन्नु भयो ।

 

 

उहाँले यो सम्झौता समग्रमा नेपाली जनताको लागि र विशेषगरी यो देशका भुमि पुत्ररपुत्री हौ भनी दाबी गर्ने नेपालका आदिवासी जनजातिहरुका लागि अति हानिकारक भएको कुरा बताउनु भयो ।

 

 

 

यो सम्झौताले आदिवासी जनजातिहरु र स्थानीय जनताको स्वतन्त्र, पूर्व सुसुचित मन्जुरी बिना उनीहरुको बसोबास क्षेत्रमा रहेको हजारौ रोपनी जग्गा अधिग्रहण गर्न र लाखौ रुख कटानी गर्न सुरु गरिसकेको जानकारी दिंदै यो सम्झौताले आदिवासी जनजातिहरु र स्थानीय सिमान्तकृत समुदायको जल, जमिन र जंगलमाथिको अधिकार हनन् गरेको बताउनु भयो ।

 

 

 

 

यो सम्झौता लागु हुँदा हजारौ हजार जनता बिस्थापित हुनु पर्ने अवस्था आउने हुँदा नेपालका आदिवासी जनजातिहरुले पनि यो सम्झौता लागु हुन नदिन बलिदानीपूर्ण प्रतिरोध गर्नका लागि तयार हुन नेपालका आदिवासी जनजाति लगायत समग्र देशभक्त र राष्ट्रवादी जनताहरुलाई आह्वान गर्नु भयो ।

 

 

 

प्रा.डा.ओम गुरुङको अध्यक्षता, जातीय क्षत्रीय रास्ट्रिय मुक्तिमोर्चाका प्रतिनिधि सुदर्शन मंगलको संचालन र अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बूढाको स्वागत मन्तव्यमा सम्पन्न सभामा जातीयरक्षेत्रीय मुक्ति मोर्चा सम्बद्ध नेवास् राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुरेश महर्जन, अखिल नेपाल राष्ट्रिय आदिवासी जनजाति महासंघका महासचिव योगेश राल्फाली, उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपालका अध्यक्ष गोकुल राइ, नेकपा सम्बद्ध जातीय विभागका प्रतिनिधि दिपेन्द्र शाही तथा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) का अध्यक्ष पदम सुन्दर लिम्बुले पनि एमसीसी परियोजनाको बिरोधमा आफु र आफु सम्बद्ध संगठनको तर्फबाट गहकिला बिचारहरु राख्नु भएको थियो ।

 

 

बिरोध सभा कार्यक्रमको बीच बिचमा राष्ट्रिय कलाकार मनु नेम्बांग, सामना परिवार, रक्तिम अभियान र अखिल नेपाल जनसांस्कृतिक महासंघका कलाकारहरुले गीत, संगीत र नृत्यहरु प्रस्तुत गरेका थिए भने प्रगतिशील कविहरुले कविता बाचन गरी बिरोध कार्यक्रमलाई रोचक र आकर्षक बनाइ दिएका थिए ।

 

कार्यक्रमको अन्तमा एमसीसी बिरोधी नाराहरु लगाइएको थियो ।

 

यसैगरी आइतबार नै बर्दिवास, पोखरा, बुटवल र सुर्खेतमा पनि ६ दल र २ मोर्चा सम्बद्ध जातीयरक्षेत्रीय मोर्चाहरुले राष्ट्रघाती एमसीसी बिरोधी सभाहरु सम्पन्न गरेका थिए ।