एमसीसीले गर्यो अधिग्रहण गरिएका जग्गा ३५ दिनभित्र खाली गर्न ताकेता
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एमसिसी परियोजनाअन्तर्गत सब–स्टेशन बनाउन अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ताकेता गरेको छ । समिति नुवाकोटमा अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न सूचना नै जारी गरेको छ।
आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब–स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ । चार सय केभी रातमाटे सब–स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो ।
‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब–स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।
जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो ।