साताको अन्तिम दिन: नेप्से परिसूचक १६ अंकले गिरावट
काठमाडौं।साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। नेप्से १६.६९ अंकले घटेर दुई हजार ६१३.६७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स पनि ६.१७ अंकले घटेको छ।
बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने आज वृद्धि भएको छ। बुधबार दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचकमा गिरावट आएको छ भने २ वटा उपसमूह वृद्धि भएको छ। जसमा जीवन बीमा उपसमूहको सूचक २.५४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.०५ प्रतिशतले बढेको छ।
आज राष्ट्र उत्थान लघुवित्त र इमर्जीङ नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै युनाइटेड इर्दी मार्दिको ९.९३ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ।
नेपाल फाइनान्सको शेयरमूल्य ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशतले घटेको छ।