‘कलेज ड्रपआउट’ ‘जोकर’ र ‘जड्याहा’ बाट कसरी बने भगवन्त मान पञ्जाबका मुख्यमन्त्री
पञ्जाबका नयाँ मुख्यमन्त्रीले आफ्नो राजनीतिक आरोहणका क्रममा केही असफलताहरू भोगेका छन्, र केही अप्रत्याशित सफलताहरू पनि भोगेका छन् र भोगेका छन् व्यक्तिगत संघर्षहरू– तर जति भोगेका छन् सबै सार्वजनिक रूपमा भोगेका छन्।
जब भगवन्त मान पञ्जाबको मुख्यमन्त्री पदको शपथ खाइरहेका थिए, तब सतोज गाउँका सबैजना आफूलाई भगवन्तको नजिकको मित्र वा नातेदार हुँ भनेर दावा गरिरहेका देखिन्थे।
‘हामी सँगै स्कूल जान्थ्यौँ, हामी मिल्ने साथी थियौँ’ ‘उसले मलाई कतिपटक भनेको छु म उसको फेवरेटट अन्टी हुँ भनेर’, ‘जब त्यो गाउँ आउँथ्यो, सधैँ गुरूघर (गुरूद्वारा)आएर मेरो खुट्टामै ढोगिदिन्थ्यो’, ‘म त वहाँको काखैमा हुकिएको हो नि १’ ‘वो तो भाई अपना प्रा है (हाम्रो भाई हो), सतोजका हरेक गल्लीका कुना–कुना र घर–घरबाट यस्ता दावीहरू सुन्न पाइन्छन्।
यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन, यहाँ हरकोही भगवन्तसँग सम्बन्ध बनाउन चाहन्छ। पञ्जाबमा उनी अहिले आम आदमी पार्टी (आप)को मुहार बन्न पुगेका छन् जुन पार्टी राज्यसभाको ११९ मध्ये ९२ सिटमा विजय प्राप्त गर्दै भारी बहुमतका साथ सत्तासिन बन्न पुगेको छ।
भगवन्त मान र अरविन्द केजरीवालको नेतृत्वमा, आपले यसपटक पञ्जाबमा भोटिङको परम्परागत ढाँचालाई बदल्न पनि सफल भएको छ।
उनीहरूले अकाली दल र कांग्रेसको पदचिन्हलाई नै पछ्याएर छोटो समयमा यस्तो नजिता हासिल गरे कि पञ्जाबका तीन पूर्वमुख्यमन्त्रीहरूले चुनावमा हार भोगेको दृश्य एकैपटक देख्न पाइयो।
यो विजयले आम आदमी पार्टीलाई दिल्लीको घेराभन्दा बाहिर पुर्याउन सफल मात्र भएन, अर्को राज्यमा गएर आफ्नो पार्टीको झन्डा गाड्दै सरकार बनाउनसम्म सफलता मिल्यो।
तर ४८ वर्षीय भगवन्त मान रातारात सफल भएर राजनीतिमा स्थापित भएका भने होइनन्, तर उनलाई चिन्नेहरू उनले आफ्नो क्षमता चाँडै नै सिद्ध गरेको मान्दछन्।
‘भगवन्तको उपलब्धिको विजारोपण १० वर्ष अगाडि भएको थियो जब उनी राजनीतिमा प्रवेश गरेका थिए’, मानका कलेजका मित्र कँवलजीत ढिन्ड्साले बताए।
‘जब उनले २०१२ मा लेहरागागाबाट पहिलो पटक चुनाव लडे, र त्यसपछि प्रकाश सिंह बादल विरुद्ध जलालाबादबाट फेरि लडे, दुवैमा उनको हार भयो– तर उनको उमेदवारीले यथास्थितिवादलाई चुनौती दिन सकिन्छ, यी अहिलेका अगुवा भनाउँदाहरूलाई हराउन सकिन्छ भन्ने सन्देश पूर्णरूपमा प्रवाहित गर्न सफल भएको थियो। अन्ततः उसले गरेर देखाएको छ।
असफलताका श्रृंखलाहरू
जब भगवन्त मान सानो थिए, आफ्नो बाबुको साइकलको पछाडिको सिटमा बसेर उनी दिनहुँ १० किलोमिटरको यात्रा गर्दै पढ्न स्कूल जान्थे।
आफ्नो क्षेत्रमा ‘मास्टरजी’ का नामले प्रख्यात भगवन्तका पिता मोहिन्दर सिंह स्वयम् एउटा तीन कोठे मिडिल स्कूलको हेडमास्टर थिए, जो आफ्नो छोरालाई राम्रोसँग पढेर असल मान्छे बन्नुपर्छ भनेर बारम्बार सम्झाइरहन्थे।
तर भगवन्तलाई भने पढाईमा भन्दा गीत गाउन चुट्किलाहरू सुनाएर साथी–भाईलाई हँसाउनमा बढी रुचि थियो। स्कूल पढ्दाको किशोरवयमा पनि उनी स्कूल, घर जहाँ पनि साथीहरूको, टिचरहरूको र विभिन्न गाडीहरूको समेत आवाजको नक्कल गरेर सबैलाई हसाउँथे, सबैको ध्यान आफूतर्फ आकृष्ट गर्नसक्ने क्षमता उनीभित्र सानैबाट थियो।
उनी कलेज पुगेपछि उनको कलालाई सरहाना गर्न थालियो। ‘मलाई थाहा छ मैले उनलाई पहिलोपटक सन् १९९१ मा भेटेको थिएँ, शहिद उद्यमसिंह कलेजको क्यान्टिनमा।
त्यहाँ उनी साथीहरूलाई चुटकिला सुनाएर र ट्याक्टरको आवाजको मिमिक्रि गरेर हँसाइरहेका थिए। तर जे गर्दा पनि उनी एकदमै नेचुरल देखिन्थे’ मानका पुराना साथी ढिन्ड्सा सम्झँदै थिए।
भगवन्त भन्दा केही सिनियर ढिन्ड्साले कलेजका दिनहरूमा धेरै प्रोग्रामहरू आफूले आयोजना गरेको र ती सबैमा भगवन्तलाई स्थान दिन कहिल्यै नछुटाएको बताउँछन्।
‘उनमा अद्भूत सिर्जनशीलता छ, उनले कलेजको कुनै कार्यक्रम पहिलोपटक जित्दा एउटा कवाडीवालाको रोल गरेका थिए, त्यो रोल गर्नुभन्दा अघि उनले एउटा कवाडीवालाकहाँ गएर घन्टौँ बिताएका थिए र उनको दुःख, उनको पीडालाई नजिकबाट बुझेर आफ्नो प्रस्तुतिलाई जीवन्तता प्रदान गर्न उनले त्यसो गरेका थिए’।
ढिन्ड्साले बताए, ‘आखिरमा आफ्नो प्रस्तुति दिने क्रममा उसले त्यो कवाडीवालाकै साइकल लिएर आएछ, त्यसमा पहिलो पुरस्कार जितेको थियो उसले।
तर भगवन्तको पितालाई आफ्नो छोराको यस्ता चर्तिकलाप्रति कुनै रुचि थिएन, उनी आफ्नो छोराले डिग्रीसम्मको पढाई सकेर सरकारी जागिर खाओस् भन्ने चाहन्थे।
‘तर उनले कहिले पनि बाबुको कुरामाथि ध्यान दिएनन्, उनी आफ्नो घर पछाडिको गोठमा बसेर गाउने, चुटकिलाहरू बनाउने र रिहर्सल गर्ने गर्थे, आफ्नो कलाकार बन्ने इच्छा पूर्ण गरिछाड्नका लागि’, ढिन्ड्साले बताए।
अन्ततः भगवन्तले आफ्नो ग्रयाजुएसनको पहिलो वर्षपछि नै उनले कलेज छोडिदिए, तर उनले चाँडै सफलता प्राप्त गरे।
शो बिजनेशमा प्रवेश
केवल १९ वर्षको उमेरमा कलाको क्षेत्रमा भगवन्त मानले पहिलो ब्रेक सन् १९९२ मा पाएका थिए। जर्नेल गुमान नाम गरेका एक संगीतकारले भगवन्तको त्यो प्यारोडीको एउटा नोट सुनेर उनीसँग मिलेर काम गर्ने प्रस्ताव गरे, जुन प्यारोडी उनले कलेजको एउटा कार्यक्रममा सुनाएका थिए।
भगवन्तमानको पहिलो प्यारोडी गीतहरूको एल्बम ‘कुल्फी गरमा गरम’ त्यही समय निस्किएको थियो जसले राम्रो चर्चा कमाउन सफल भएको थियो त्यतिबेला।
त्यो समयमा त्यो गीतले निकै ठूलो सफलता हासिल गरेको, त्यसका पचास लाख कपी एल्बम बिकेको र सुपरहिट रहेको नामी पञ्जावी गायक करमजीत अनमोलले बताए। त्यस एल्बममा भगवन्तले समाजमा व्याप्त कुनै पनि कुरिति, कुसंस्कार र समस्याका विषयहरूलाई नछोडेको उनले बताए।
सन् १९९४ सम्ममा उनी पञ्जाबमा मात्र नभएर देशकै एक नामी स्ट्यान्ड अप कमेडी स्टारका रूपमा परिचित भइसकेका थिए। उनले आफ्नो कला प्रस्तुत गर्न बेलायत, क्यानडा, अमेरिका लगायत संसारका धेरै देश घुम्ने मौका पाए।
त्यसअघि भगवन्तले सन् ९०को दशकको शुरूमा आफैँले शुरू गरेको कमेडी शो ‘जुग्नु केहेन्दा है’ १० वर्षसम्म प्रसारण भएको थियो। सन् १९९५–९६ तिर उनले राष्ट्रियस्तरमै मञ्च प्रदान गर्ने दि लाफ्टर च्यालेञ्जमा प्रतिश्पर्धा गरेपछि भने उनको ख्याति चुलियो।
साहसी राजनीतिज्ञ
भगवन्तको राजनीतिमा प्रवेश भने कुनै पूर्वसंकेत बिना नै भएको मान्छन् उनका नजिकका साथीहरू।
‘२०१२ मा एक दिन अचानक भगवन्तले मलाई दिल्ली एयरपोर्टबाट फोन गर्यो र ‘ढिन्ड्सा म लेहेरागागाबाट चुनाव लड्दैछु’ भनेर भन्यो, मैले केही जवाफ नै दिन सकिनँ’, ढिन्ड्साले बताए, ‘त्यस्तो समयमा जुनबेला उ आफ्नो क्यारिअरको उचाईमा थियो।
त्यो समयमा लेहेरागागा क्षेत्रमा पञ्जाबका पूर्व मुख्यमन्त्री राजिन्दर कौर भाट्टलको वर्चश्व थियो। कौरले १९९२ देखि त्यो क्षेत्रबाट चुनाव जित्दै आएकी थिइन्।
पछि मैले उसलाई कुनै सुरक्षित स्थानबाट चुनाव लड्ने सल्लाह मात्र दिएँ, ‘तर उसले ठूलो सोच बनाइसकेको रहेछ, पहिलोपटक सफल भए भएन।
तर उनी यतिमै रोकिनेवाला थिएनन्। सन् २०१७ मा उनले आम आदमी पार्टीका तर्फबाट पञ्जाब जलालावाद क्षेत्रबाट उमेदवारी दिए।
त्यो पनि तत्कालीन मुख्यमन्त्री प्रकाशसिंह बादलका विरुद्ध, तर यसपटक पनि पराजय भोग्नुपर्यो। तर, भगवन्तले पञ्जाबको राजनीतिमा सफलतापूर्वक परिवर्तनको बीउ बिजारोपण गरेको ढिन्ड्साको विश्वास छ।
आम आदमी पार्टीभित्र पनि, संघर्षदेखि नडराउने–नभाग्ने, र आवश्यक परे नेतृत्वलाई नै चुनौति दिन सक्ने नेताका रूपमा चिनिन्छन्।
२०१८ मा, अरविन्द केजरीवालले लागूपदार्थको व्यापारमा संलग्न भएको आरोप लगाएर अकाली नेतासँग माफी मागेपछि मानले त्यसको विरोधमा पदबाट राजिनामा दिएका थिए। त्यसको उनी १० महिनापछि पार्टीको प्रदेश प्रमुख बनेका थिए।
सन् २०१५ मा उनले आफ्ना संघर्षका दिनहरूमा साथ दिएकी पत्नीसँग सम्बन्धविच्छेद गर्न लागेको घोषणा गरेको थियो, यकिन साथ भन्न नसकिए पनि उनले राजनीतिका लागि गृहस्थी जीवन त्याग गरेको चर्चा चलेको थियो।
राजनीतिकै कारण उनको पारिवारिक जीवन छिन्न भएको थियो, उनले आर्थिक अभावका उनीसँग गाडीमा पेट्रोल हाल्ने पैसासमेत हुँदैनथ्यो। आज उनले आफूसँग १ करोड ६४ लाख भारू बराबरको सम्पत्ति रहेको घोषणा गरेका छन्।
राजनीतिक यात्राका क्रममा उनीमाथि केही गम्भीर आरोप पनि लागे। सन् २०१५ र २०१६ मा उनलाई आफ्नै पार्टीका नेताहरू योगेन्दर यादव र हरिन्दर सिंह खाल्साले रक्सी खाएर सार्वजनिक कार्यक्रममा आएको आरोप लगाए।
त्यसबाहेक गुरूद्वारा र अन्तिम संस्कारमा जाँदा समेत रक्सी खाएर गएको आरोप उनीमाथि लाग्यो। उनको यो बानीलाई लिएर स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लोकसभा बैठकमा व्यङ्ग्य गरे।
उनलाई ‘पेगवन्त सिंह’ भनेर विभिन्न मिम बनाइयो, प्रचार गरियो। सन् २०१८ मा उनले रक्सी त्यागेको घोषणा स्वयम् केजरीवालले गरेका थिए।
सानैदेखि अध्ययनमा रुचि राख्ने भगवन्त पञ्जावी नेशनल हिरोहरूका फ्यान थिए, विशेषगरी भगत सिंहका। ‘उनीसँग एउटा सानो रेडियो भएको र उनी फुर्सद भयो कि त्यसैमा कान राखेर विभिन्न किसिमका समाचारहरू सुनिरहन्थे’, मानका बाल्यकालदेखिका साथी जोधा सिंहले बताए।
पञ्जाबको जनादेशलाई भारतको समग्र राजनीतिमा क्रान्तिकारी परिवर्तनको जनादेश मानिन्छ, भगवन्त मानका समर्थकहरूले उनले यही पदचापलाई पछ्याउने आशा गरेका छन्।
द प्रिन्टमा प्रकाशित शुभांगी मिश्राको आलेखको भावानुवाद। चित्र मनिषा यादव
श्रोत: आइएनएस-स्वतन्त्र समाचार