कथित स्थानीय निर्वाचन बहिष्कार गरौं : सडक सङ्घर्षलार्ई जारी राखौं : अध्यक्ष सीपी गजुरेल
काठमाडौं। नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । यस अवधिमा यो व्यवस्था र यसमा संलग्न पार्टी र तिनका नेताले राष्ट्र र जनताको हितविपरीत गरेका अनगिन्ती कामहरुको परिणामस्वरुप आज राष्ट्र गम्भीर सङ्कटमा पुगेको छ ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो देशको नक्सामा त छापिएको छ तर त्यसमाथि नियन्त्रण भारतकै कायम छ । देशभक्त नेपाली जनताको विरोधलाई कुल्चिँदै राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई संसद्ले अनुमोदन गरेर नेपाली भूमिलाई विदेशी शक्तिहरुको क्रिडास्थल बनाउने काम गरिएको छ ।
छाक टार्न नसकेर नेपाली युवाहरु विदेश पलायन हुने क्रम झन् तीव्र बनेको छ । भ्रष्टाचार अनियन्त्रितरुपमा बढेको छ । अर्थतन्त्र तहस–नहस भएको छ ।
यी सबैको विरोधमा जनता सडकमा उत्रिएकै बेलामा त्यसबाट जनताको ध्यान अन्यत्र मोड्नका लागि आगामी २०७९ साल वैशाख ३० गते ‘स्थानीय निर्वाचन’ गर्ने तयारी थालिएको छ ।
यो व्यवस्थाका तीनैवटा अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै असफल भएका छन् । भ्रष्टाचार गरेर थुपारेको पैसाको खोलो बगाउने, सत्ता र शक्तिको दुरुपयोग गर्ने र बाहुबलको प्रयोग गर्नेजस्ता हतकण्डा अपनाएर हुने यो ‘निर्वाचन’ मा भाग लिनुको औचित्य कतैबाट पनि पुष्टि हुँदैन ।
त्यसकारण, कथित स्थानीय तहको निर्वाचनलाई सक्रियरुपमा बहिष्कार गरी सडक आन्दोलनलाई निरन्तरता दिन हामी सबै देशभक्त, प्रगतिशील, वामपन्थी शक्ति र आदरणीय जनतासमक्ष जोडदार आह्वान गर्दछौं।