हिंसाको चपेटामा नेपाल

आदित्यमान श्रेष्ठ-

नेपालमा नेकपा माओवादीको जनयुद्धका नाममा राज्य र माओवादीबिच हत्या–हिंसाका श्रृंखला चलिरहेको बखत नै भनिएको थियो– नेपालमा माओवादी द्वन्द्व अन्त्य भए पनि यहाँ हिंसा भने रोकिने छैन !

 

 

माओवादीहरू हतियार बिसाएर शान्ति प्रक्रियामा सहभागी भएपछि देशभर करिब ३० वटा हिंसात्मक समूहहरू देखिएका थिए। तीमध्ये धेरै समूहसित तात्कालिन सरकारले वार्ताका माध्यमबाट शान्ति कायम गरेको थियो।

 

 

 

 

तर हिंसा र द्वन्द्वको त्यस्तै सिलसिला अहिले पनि जारी रहेको देखिएको छ, तर फरक स्वरूपमा। आज पहिलेजस्तो समूहगत हिंसा भन्दा भयानक मोड जनताको आक्रोसबाट उत्पन्न हिंसाले लिने संकेत देखिएको छ।हाम्रो मुलुकमा यस्तो स्थिति कसरी आयो भनेर मनन गर्नु जरुरी भएको छ ।

 

 

 

 

नेपाली जनताले राजनैतिक परिवर्तन त पाए, तर नाम मात्रको।कुनै तन्त्र र वादले पनि नेपाली जनताको पीर मर्का सुल्झिन सकेन।शासक र शासित वर्ग बिचको दूरी झन्–झन् बढ्दै गएको देखियो। त्यसले आमजनमा समेत हिंसात्मक व्यवहार श्रृजना गर्न लागेको देखिएको छ।

 

 

 

 

जो मानिसहरू अन्याय अत्याचारमा परेका थिए वा परेका छन्, तीमध्ये धेरै हिंसाको बाटो हिँड्न थालिसकेका छन्।नेपालका विभित्र ठाउँहरूमा यस्ता घटना भइरहेको देखिएको छ।त्यो वर्तमानमा स्थापित व्यवस्थाको विरोधमा जनआक्रोस बढदै गएको संकेत हो ।

 

 

 

 

नेपाली समाजमा हिंसात्मक गतिविधिका सिलसिला बढ्दै गएका छन्।त्यस्तै हिंसाको एउटा घटनालाई उदाहरणका रूपमा लिउँ।हालै मोरङ जिल्लाको लेटाङ भन्ने ठाउँमा एउटी छात्रामाथि शिक्षकबाटै हुन लागेको यौन दुर्व्यवहारको घटनाबाट आक्रोशित स्थानीयको भीडले उग्र रूप लिएर हिंसात्मक घटना हुन थालेपछि प्रशासनले अन्तिममा त्यहाँ कफ्र्यु नै लगाउनु परेको थियो। त्यहाँ भएको झडपमा एकजना महिला प्रहरीको ज्यान समेत गएको बताइएको छ।

 

 

 

 

खासगरी यौन–दुर्व्यवहारका घटनालाई मिलापत्र गरेर मिलाइने र त्यस्ता घटनामा संलग्न पक्राउ परे पनि खासै कारवाही नहुने आम बुझाई रहेको देखिएको छ।

 

 

 

लेटाङको घटनामा पनि आक्रोशित भीड सुरक्षामा खटिएका प्रहरी माथि नै जाइलाग्ने अवस्था सिर्जना भएको भत्रे कुरा सबभन्दा महत्वपूर्ण छ।

 

 

 

नेपालमा पहिले पनि बलात्कार र हिंसाको घटना नभएका होइनन्, तर यस्ता घटनाहरूको विरोधमा व्यापक जनआवाज उठ्न शुरू भएको भने निर्मला पन्त हत्याकाण्डबाट नै हो। तर त्यो घटनाको पनि निष्पक्ष छानबिन हुन सकेन।

 

 

 

 

त्यसमाथि असली दोषीलाई लुकाउने प्रयत्नमा नक्कली अपराधी खडा गरेर उनीहरूमाथि कार्यवाही गरेको देखियो।सो घटनाको अझैसम्म टुङ्गो लाग्न सकेको छैन ।

 

 

 

 

लेटाङ्गको सो घटनाले हाम्रो सामाजिक सद्भावमा गहिरो चोट पुर्‍याएको छ भने त्यसले केही गम्भीर प्रश्न पनि उठाएको छ।विद्यालयलाई सरकारी स्तरबाटै ‘शान्ति क्षेत्र’ घोषित गरिएको छ।तर विद्यालय परिसरमै त्यस्तो अप्रिय घटना भएपछि अहिले सो विद्यालयमा पठनपाठनको वातावरण नै नभएको समाचार बाहिर आएको छ।

 

 

 

सो घटनाका क्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई धम्क्याइएका कारण अझैसम्म पठनपाठनको अवस्था नरहेको बताइएको छ।

 

 

 

 

त्यो भन्दा पनि गम्भीर कुरा के बताइएको छ भने विद्यालयको स्थितिलाई अनियन्त्रित बनाउन लेटाङ बाहिरबाट समेत मानिसहरू ल्याएर परिचालित गरिएको थियो।

 

 

 

कानमा कुण्डल लगाएका, नाकमा मुन्द्रा लगाएका अपरिचित मानिसहरू विद्यालय भित्र प्रवेश गरेका थिए।उनीहरूले विद्यालय गेट बाहिरबाट प्रहरी माथि निरन्तर पेट्रोल बम, ढुंगा, इँटा, कोक र बियरका बोतलले प्रहार गरिरहेका थिए।यो कुराबाट पनि अनुमान लाउन सकिन्छ, आज मानिसहरू कतिसम्म हिंसात्मक भएछन्।

 

 

 

त्यस्तै केही महिना अगाडिको अर्को एक घटनामा सुनसरीमा प्रहरी थानाले बलात्कार सम्बन्धी एउटा रिपोर्ट नलिएको भन्दै त्यहाँका स्थानीयहरू हात–हातमा लाठी लिएर विरोधमा आएका थिए।

 

 

 

जनकपुरमा राष्ट्रिय सभाको चुनाव हुने ठाउँमा सीके राउत समूहका मानिसहरूले लाठी सहित आएर कार्यक्रम बिथोलेको समाचार बाहिर आएको छ।

 

 

 

त्यस्तै, बुटवलमा एमाले सरकारका अर्थमन्त्री औद्योगिक क्षेत्रको उद्घाटनमा जाँदा त्यहाँ बसोबास गरेका सुकुम्बासीहरूले उनीमाथि नै ढुङ्गा–मुढा बर्साएका थिए।एकजना वडाअध्यक्षले मनोमानी गर्‍यो भनेर उनीमाथि भौतिक आक्रमण नै भयो।

 

 

 

 

म्यान पावर कम्पनीले ठग्यो भनेर पीडितहरू म्यानपावरमा काम गर्ने मान्छे र काम खोजिदिने एजेन्टलाई कुटिरहेको भिडियो केही अघिमात्र सामाजिक सञ्जालमा भाइरल भएको थियो।किन मानिसहरू यसरी आक्रोशित भएर हिंसात्मक गतिविधितर्फ उन्मुख भएका होलान् !

 

 

 

आम नागरिकहरू देशमा व्याप्त अन्याय, अत्याचार र बेथितिबाट आजित भएर, त्यसलाई सहन नसकेर यसरी हिंसाको गतिविधिमा उत्रेका पो हुन् कि !

 

 

हुन त राज्य भएको ठाउँमा कानुनले यी समस्याहरूको समाधान गर्नु पर्ने हो।तर त्यसो हुन नसकेपछि मान्छेले हिंसाको बाटो रोजेको देखिएको छ।

 

 

 

केही दिन अगाडि रौतहटबाट अर्को एउटा घटना बाहिर आयो।त्यहाँ एउटा गाडीले ठक्कर दिएर एकजना स्थानीय चौधरी नामको मानिसको ज्यान गएको रहेछ।सो दुर्घटना गाडीका चालकको लापरवाहीका कारण भएको बताइएको छ।

 

 

 

 

घटनाको विरोधमा झण्डै चार–पाँच सय स्थानीयको उत्तेजित भीडले त्यहाँको प्रहरी चौकीमा नै आगजनीको प्रयास गरेको बताइएको छ।

 

 

 

 

अनियन्त्रित भीडलाई नियन्त्रणमा ल्याउन अश्रुग्यासले नपुगेर फायरसम्म खोल्नु परेको बताइएको छ।अन्त्यमा चालकमाथि कारवाही हुने र पीडितलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि स्थिति सामान्य बनेको बताइएको छ।

 

 

यदि दोषीमाथि कारवाही हुन्छ भन्ने विश्वास आम मानिसहरूमा भएको भए रौतहटको त्यो अप्रिय घटना नै हुने थिएन।

 

 

 

 

हुन पनि यस्तै कार्यवाहीका लागि राज्यले विभिन्न किसिमका सुरक्षा निकायहरूको व्यवस्था गरेको छ।तर मानिसहरूको आक्रोसबाट के थाहा लाग्छ भने राज्यका प्रतिनिधिहरूबाट सामान्य न्याय निसाफ भएको पनि पाइँदैन।यो दुःखद कुरा हो, तर आज यस्तो घटना बढदो रूपमा भइरहेको देखिन्छ ।

 

 

 

यसै सन्दर्भमा सुर्खेतमा भएको घटनाले धेरै पक्षको खुलासा हुन्छ।त्यहाँ प्रमुख राजनैतिक दलका कार्यालयहरू जलाइएको थियो।प्रहरी शक्तिले पनि त्यसलाई रोक्न नसकेको खबरमा बताइएको छ।

 

 

 

 

आखिर आसन्न स्थानीय निकाय निर्वाचनको मुखमा आएर यस्तो घटना घट्नु भनेका आम जनताले ती दलहरूमाथि नै अविश्वास गर्नु हो।घरधनीहरूले सम्बन्धित दलहरूसित छिटोभन्दा छिटो आफ्नो घरबाट पार्टी कार्यालयलाई अन्त सार्न अनुरोध गरेको सुनियो।

 

 

 

 

 

इलामको फाकफोकथुम गाउँपालिकाले दक्षिण कोरियामा मौसमी कामदार पठाउने प्रक्रिया पारदर्शी ढङ्गले नगरेको भन्दै असन्तुष्ट युवाहरूले गाउँपालिकाको कार्यालयमै तोडफोड गरेको समाचार बाहिर आएको छ।

 

 

 

 

असन्तुष्ट युवाहरूलाई वार्ता गर्ने भनेर गाउँपालिकाको कार्यालयमा बोलाइएको थियो।बिहान १० बजेतिर गाउँपालिका कार्यालय पुगेका युवाहरूलाई धेरैबेर पर्खिदाँ पनि वार्तामा नबोलाइए पछि आक्रोसित युवाहरूले पालिकाको कार्यालय तोडफोड गरेका थिए।उनीहरूले कार्यालयको प्रशासकीय शाखाहरूमा तालाबन्दी समेत गरेका थिए।

 

 

बाबुराम भट्टराईले अब आउने चुनावहरूमा दलका उमेदवारहरू आफ्नो क्षेत्रमा जान पनि मुश्किल छ भनेर भनेका छन्।आगामी वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुन गइरहेको छ।

 

 

 

उम्मेदवारहरूले चुनाव प्रचार गर्न थालिसकेका त छैनन्, तर गरिहाले पनि हिंसात्मक गतिविधिका कारण त्यसमा बाधा–अड्चन पर्नसक्ने देखिन्छ।

 

 

 

सर्लाहीमा शनिबार संघीय सांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको थाहा हुन आएको छ।उनको सुरक्षामा खटिएका प्रहरीमाथि समेत हातपात भएको खबर छ।

 

 

 

सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा सडक विस्तार र स्थानीय क्लबको भवन निर्माणको विषयमा जनता समाजवादी पार्टी र नेकपा एमाले दुई पक्षमा विभाजित हुँदा टकरावको स्थिति उत्पत्र भएको भत्रे खुलासा भएको छ।

 

 

 

स्थानीय फुलजोर बाबा युवा क्लबको भवन निर्माण पहिले कै स्थानमा गर्ने कि अन्यत्र भत्रे विषयमा छलफल चलिरहँदा दुई पक्षबीच विवाद चर्केर उक्त घटना भएको बताइएको छ।

 

 

 

 

फुलजोरमा सडक विस्तार हुँदा क्लबको आधा भवन भत्किसकेको थियो।एमालेबाट निर्वाचित नगरप्रमुखसहित एक समूह क्लबको भवन पुरानै ठाउँमा बनाउने पक्षमा थिए।

 

 

 

सांसद साह पक्षले अर्को ठाउँमा भवन बनाउनु पर्ने बताएपछि एमाले पक्षधर युवाबाट आक्रमण भएको बताइएको छ।सांसद साहमाथि रडले आक्रमण भएको र उनको टाउको तथा पिठ्युमा चोट लागेको थाहा भएको छ। घाइते साहलाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ।

 

 

 

यसै बीच सडक निर्माण र ढलानको विषयमा रौतहटको माधव नारायण नगरपालिकाको माधोपुर गाउँमा पनि विवाद भएको खबर आएको छ।दुई पक्षबीच झडपको अवस्था सिर्जना भए पछि प्रहरी परिचालन गर्नु पर्ने अवस्था आएको थियो।

 

 

 

समाजमा यस्ता विवादका घटना हुनु सामान्य भए पनि हरेक साना–तिना विवादमा पनि हिंसात्मक प्रतिक्रिया भने जताततै हुने गर्दैन।के यी घटनाहरू एउटा बलियो राज्यलाई सुहाउने कुरा हो ?

 

श्रोत:आइएनएस-स्वतन्त्र समाचार