कथित स्थानीय निर्वाचन बहिष्कार गरौं,वैज्ञानिक र जनवादी शिक्षाका लागि सङ्घर्ष गरौं भन्दै अखिल (क्रान्तिकारी)द्वारा सम्पूर्ण जनसमुदायमा अपिल
काठमाडौं। नेकपा (क्रान्तिकारी मओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले कथित स्थानीय निर्वाचन बहिष्कार गर्न र वैज्ञानिक र जनवादी शिक्षा लागु गर्न संघर्ष गर्ने पर्ने उल्लेख गरेको छ।
(क्रान्तिकारी) महान् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्षहरुमा सक्रिय भूमिका निर्वाह गर्दै त्याग, बलिदान र समर्पणसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति–विसङ्गति एवम् शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणविरुद्ध नेतृत्वदायी भूमिकामा रही निरन्तर सङ्घर्ष गर्दै आएको नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वास्तविक उत्तराधिकारी सङ्गठन हो ।
शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभ गराउनका लागि हाम्रो सङ्गठनले निरन्तर सशक्तरुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
साथै, राष्ट्रघात र जनघातका विरुद्ध सशक्त ढङ्गले अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा एवम् राष्ट्रघाती सन्धि–सम्झौताविरुद्ध अग्रणी भूमिकामा रही नेतृत्व गर्दै आइरहेको छ ।
आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा छ । शेरबहादुर देउवा नेतृत्वको सरकार जनता र राष्ट्रप्रति जिम्मेवार बन्नुको सट्टा राष्ट्रघात गर्नमै तल्लीन छ ।
राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित गराएर नेपाल र नेपाली जनताप्रति घात गरेका छन् । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपालगायतका दलहरु र प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्मा टेबुल गरेर हठातरुपमा पारित गराए ।
अन्ततः राष्ट्रघाती एमसीसी सम्झौता पारित गराउनमा सत्ता पक्ष र प्रतिपक्ष दुवै उत्तिकै जिम्मेवार रहे, जसले गर्दा आगामी दिनमा नेपाल गम्भीर सङ्कटको भूमरीमा फस्ने देखिन्छ ।
अमेरिकी साम्राज्यवादको हैकम बढ्दै जाने र मुख्यतः चीनलाई घेर्ने अमेरिकाको रणनीतिअनुरुप नेपाली भूमि प्रयोग हुनेछ भने भविष्यमा यो मुलुक विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको छ, जसकारण राष्ट्रिय स्वाधिनताको रक्षार्थ एमसीसी जस्तो राष्ट्रघाती परियोजनालाई खारेज गर्नका लागि जनताको सङ्घर्ष अपरिहार्य छ ।
राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेका छन् । महँगी चरमरुपमा बढ्दै गइरहेको छ भने भ्रष्टाचार त्यत्तिकै व्याप्त छ । जनता रोग, भोक र अभावबाट ग्रसित छन्।
७० लाखभन्दा बढी युवा र विद्यार्थी रोजगारी÷अध्ययनको सिलसिलामा विदेशिन बाध्य छन् भने ५० लाखभन्दा बढी युवा र विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् ।
अहिलेको दलाल संसदीय राज्यव्यवस्था र सत्ता अझै मजबुत बनाउन दलाल र राष्ट्रघाती शासकहरु मरिहत्ते गरेर लागिपरेका छन्, जसका लागि आगामी वैशाख ३० गते हुने कथित स्थानीय तह निर्वाचनको तयारीमा जुटिरहेका छन् ।
चरमरुपमा स्रोत र साधनको दुरुपयोग गर्ने, प्रतिक्रियावादी र भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चरम दलाली र राष्ट्रिय गद्दारी गर्नेहरुविरुद्ध भण्डाफोर गरी स्थानीय तहको निर्वाचन सशक्त बहिष्कार गर्नु अपरिहार्य बन्न पुगेको छ ।
वर्तमान सत्ता र व्यवस्थामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवम् शिक्षा र स्वास्थ्य पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क र सर्वसुलभ सम्भव छैन।
जसका लागि सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध र सबै देशभक्तहरुलाई मोर्चाबन्दी गरी वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्पमा जनगणतन्त्र स्थापना गरी वैज्ञानिक समाजवादको यात्रामा अगाडि बढ्ने तयारीमा लाग्नु जरुरी छ ।
तसर्थ, स्थानीय तहको निर्वाचनले मुलुकलाई निकास होइन, थप द्वन्द्वमा धकेल्ने, राष्ट्रघाती र जनघातीहरुलाई अझ मजबुत पार्ने हुँदा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, युवा, किसान, मजदूर, महिलालगायत आम जनसमुदायलाई कथित स्थानीय तह निर्वाचन सशक्त बहिष्कारको निम्ति हार्दिक अपिल गर्दछौं।