मोदीसँगको भेटमा ४ परियोजनाको संयुक्त उद्घाटन गर्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।
शुक्रबारदेखि भारतको औपचारिक भ्रमणमा प्रम देउवाले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आज बिहान सवा ११ बजे भेट गर्ने जनाइएको छ।
सो भेटका क्रममा महत्वपूर्ण द्विपक्षीय छलफल हुनेछ । साथै छलफलपछि विभिन्न चार वटा परियोजनाको दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
जसमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनको उद्घाटन लगायत एजेन्ड रहेका छन् । उक्त रेल सेवाको उद्घाटन दिल्लीबाटै संयुक्त रुपमा ‘फ्लाग अफ’ मार्फत् गरिने छ ।
आजै पौने १२ बजेदेखि दुवै देशका प्रतिनिधिमण्डल स्तरीय छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
सो क्रममा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण समझदारीको घोषणा हुने जनाइएको छ ।
आजै नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्र समेत आदानप्रदान गरिने बताइएको छ ।
शुक्रबार दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग प्रम देउवाले भेटवार्ता गरेका थिए ।
विभिन्न स्थलको भ्रमण तथा महत्वपूर्ण भेटवार्ताहरु सकेर प्रम देउवा र प्रतिनिधि मण्डल भोलि आइतबार स्वदेश फर्कने छ ।