गठबन्धन सरकार आफन्तको भर्ती केन्द्र: अध्यक्ष ओली
काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सेटिङमा गठन गरिएको वर्तमान गठबन्धन सरकार आफन्त भर्ती गर्ने केन्द्र बनेको आरोप लगाउनुभएको छ ।
बुधबार सुनसरीको इनरुवामा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै ओलीले देश आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भाइ–भजिता, छोरा–बुहारी र साला–साली भर्ती गर्न व्यस्त रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले सरकार छाड्नेवित्तिकै देशको आर्थिक अवस्था ध्वस्त भएको बताउनुभयो । आगामी तीनै तहको निर्वाचन जितेर देशलाई सही दिशामा फर्काउने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएको उहाँको आरोप छ ।
ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेले सबै तहमा विजयी हासिल गरी थप विकासका काम गर्ने बताउनुभयो । एमालेले विजयी नभए भ्रष्ट्रचार बढ्ने उहाँको तर्क छ ।