मनोनयन फिर्ता गराउन धाक,धम्की नदेउ: आयोग

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ ।

 

 

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरू सबैलाई आग्रह गरेको छ ।

 

 

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारबाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकालेर डर तथा धम्की नदिन भनेको हो।

 

 

 

उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था रहेको समेत आयोगले विज्ञप्तिमा स्मरण गराएको छ ।

 

 

 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न आग्रह गरिउको छ ।

 

 

 

नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानुनको प्रयोग र पालनामा इमान्दार हुन सबैलाई आयोगले अनुरोध गरेको छ ।