संखुवासभामा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु
काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।
चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।