किसानहरुलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्छ: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ ।
आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो ।
उहाँले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो ।
उहाँले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताउनुभयो ।
मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रलाई प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने बताउनुभयो । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उहाँले आवश्यक कच्चा पद्धार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताउनुभयो ।
उहाँले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरुको हस्तान्तरण र सिचाइको व्यवस्था लगायतका कामहरुलाई एकिकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।