नुवाकोटको बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीय रिहाइ
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।
नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।
प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरीले जनाएकाे छ।
आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।
यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी भएको बताएका छन् ।
स्थानीय समिर ढुंगाना भन्छन्, ‘प्रधानमन्त्री कार्यालयबाट वार्ता गर्ने भनेर खबर आएको छ । आज गाउँ सुनसान छ ।
प्रहरीको गाडी र फोहोरको गाडी दुवै आएका छैनन् । हिजोको गाडीहरुले सडकमै फोहोर फालेर गएकोले सडकहरु पनि अवरुद्ध छन् ।’