जबरजस्ती करणी गर्ने ८ जना पक्राउ

काठमाडौं। काठमाडौंमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।

 

 

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार ३ जना पुरुषले जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

 

 

उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

 

 

त्यस्तै मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

ती किशोरीलाई सोही गाउँपालिका-३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

 

 

 त्यस्तै ओखलढुङ्गामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

 

 

उनीहरु समेतले ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाई गत बैशाख २७ गते दिउँसो सोही नगरपालिका-११ मा जबरजस्ती करणी गरेको र यसअघि पनि बिभिन्न स्थान र मितिमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

हाल फरार अर्का अभियुक्त सोही ठाउँ बस्ने ७६ वर्षीय फणिन्द्र प्रसाद दहालको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।