कर्णाली राजमार्गको अवस्था नाजुक
काठमाडौं। साँघुरो, अप्ठ्यारो र दुर्घटनास्थलका रूपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा बर्सेनि जोखिम बढिरहेको छ।
राजमार्ग टालटुलबाहेक स्तरोन्नतिमा बजेट कम हुँदा वर्षात्मा गाडी गुड्नै सकस हुने गरेको हो। जसले गर्दा कर्णालीवासीले बर्सेनि सास्ती बेहोर्नुपरेको छ।
पुरै राजमार्ग प्रायः साँघुरो भएकाले सामान्य वर्षात्मा पनि पहिरोले तीनचार दिनसम्म अवरुद्ध हुने गरेको छ।
टालटुल बजेट विनियोजनभन्दा पनि सडक चौडा र स्तरोन्नति गर्नेगरी सरकारले कर्णाली राजमार्गमा ध्यान दिनुपर्ने सडक डिभिजन कार्यालयका इन्जिनियरहरू बताउँछन्।
राजमार्गको दैलेख खण्ड प्रवेशसँगै हिउँदमा धुलो, वर्षात्मा सडकमा पहिरो र हिलोको लेदो हुँदै मुस्किलले गाडीहरू चल्ने गर्छन्।
पहिरो आएका बेला यहाँ साता दिनसम्म सवारीसाधन चल्दैनन्। पहाडबाट आउने खहरेहरूले ढुंगामाटो बगाएर सडकमै थुपार्दा राजमार्ग जीर्ण अवस्थामा रहेको छ।
वर्षात्ले ठाउँठाउँमा कालोपत्रेसमेत बगाएको छ।खहरेले बगाएर ल्याएको माटो ढुंगामाथि गाडी चढाउँदा दुर्घटना जोखिम पनि उत्तिकै छ।
राजमार्गको धेरैजसो ठाउँ हिलो र पहिरोले सडक क्षतविक्षत अवस्थामा पुगेको छ। थोरै र झिनो बजेटमा मर्मतसम्भारको काम भइरहेको छ।
राजमार्गका धेरै स्थानमा पुलबिनाका खहरे खोलाहरूका कारण वर्षात्मा राजमार्गलाई चुनौती थपिने गरेको हो।
सुर्खेतबाट जुम्ला यात्रा गर्नेहरू निकै सास्तीपूर्ण यात्रा गरेर गन्तव्यमा पुग्ने गरेको रार्कमका व्यवसायी नैनबहादुर शाहीले बताए।
‘बर्खायामसँगै राजमार्गमा कतै न कतै पहिरोले रोकेकै हुन्छ। व्यवसायी शाहीले भने, ‘सडकमा पिचभन्दा पनि खाल्डाखुल्डी बढी छन्।
२ सय ३६ किलोमिटर कर्णाली राजमार्ग दुई खण्डमा विभाजन गरिएको छ।
दैलेखको दहीखोलाबाट जुम्लासम्म १ सय ४ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाले हेर्छ भने दहीखोलादेखि सुर्खेत (बांगेसिमल)सम्म १ सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आइरहेको छ।
मुख्य गरी वर्षात्मा गोठखोला, घट्टेखोला, सेरिघाट, पिली, रारालिहीमा पहिरो र टाकुल्ला खोला र जाक्सी खोलामा बाढीले सडक अवरुद्ध पार्ने गर्छ।
राजमार्गमा प्रायः पुलहरू बनिसकेका छन्। कर्णाली राजमार्गको स्तरोन्नति शीर्षकमा गत वर्ष बजेट नै नआएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।
सडक क्षतविक्षत अवस्थामा हुँदा समेत बजेट नआउनुले सडकको अवस्था झन् नाजुक छ।
राजमार्ग साँगुरो हुनु नै प्रमुख समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी (इन्जिनियर) राजु पौडेलले बताए।
‘बढी पिचभन्दा पनि राजमार्ग चौडा गर्नुपर्छ,’ सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर पौडेलले भने, ‘राजमार्ग चौडासँगै स्तरोन्नति सँगसँगै हुनुपर्छ।
यो वर्ष रत्न राजमार्गअन्तर्गत हर्रेदेखि कर्णाली राजमार्गको दहीखोलासम्म ५ करोड राजमार्ग स्तरोन्नति शीर्षकमा झिनो बजेट आएको छ।
जसबाट सडक चौडा, कालोपत्रे, नाली, वाल आदिको काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले बताए।
‘राजमार्ग स्तरोन्नतिका लागि बजेट कम आउने गर्दछ,’ इन्जिनियर शर्माले भने, ‘सडक बोर्डबाट मर्मतको लागि आएको रकम कालोपत्रे टालटुल र सुपरभाइजरका लागि खर्च हुन्छ।
सडक बिग्रिएको ठाउँमा खाल्डाखुल्डी पुर्ने, कल्भर्ट गराएको, पानी धेरै आउने ठाउँलाई विशेष प्राथमिकता दिएर काम गरेका इन्जिनियर शर्माले बताए।
कर्णाली राजमार्ग आसपासका प्रहरीहरूलाई वर्षात् अवधिभर सर्तक अवस्थामा रहन भनेका छौं,’ दैलेख प्रहरी प्रमुख भुवनेश्वर साहले भने,राजमार्गमा बाढीपहिरो आए तत्काल टोली खटिनेछ।नागरिक दैनिकमा खबर छ।