बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
२३ असारमा पुन: मतदान तोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्ने आदेश सर्वोच्च अदालतले दिन अस्वीकार गरेको छ ।
निर्वाचन आयोगले बुढीगंगामा ३० वैशाखको मतदान रद्द गरी २३ असारमा पुन: मतदानको निर्णय गरिसकेको छ ।
बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चको यो निर्णयसँगै निर्वाचन आयोगलाई २३ असारमा बुढीगंगामा पुन:मतदान गर्न बाटो खुलेको छ ।
३० वैशाखमा भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको पुष्टि भएको भन्दै आयोगले ३० वैशाखमा भएको मतदान रद्द गरी पुन: मतदानको नयाँ मिति तोकेको थियो ।
बुथ कब्जा भएको भन्दै नेपाली कांग्रेसलगायत सत्तारुढ गठबन्धनका दलले पुन:मतदान मागेका थिए भने नेकपा एमालेले मतगणना माग गरेको थियो ।