एसपीपीबारे अमेरिकालाई पत्र पठाउन बाँकी छ: परराष्ट्र

काठमाडौं। परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न बाँकी रहेको जानकारी दिएको छ।

 

 

अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको जानकारी परराष्ट्रले दिएको हो।

 

 

मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णयबारे थाहा भएको उल्लेख गर्दै उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने जानकारी दिइन्।

 

 

 

उनले एसपी पीबारे विगतमा भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको संलग्नता नभएको जानकारी पनि दिइन्।

 

मन्त्रिपरिषद्ले गत असार ६ गते अमेरिकी कार्यक्रम एसपिपीमा सहभागी नहुने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउन परराष्ट्र मन्त्रालयलाई भनेको थियो।त्यस्तै, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ।

 

 

पत्रकार सम्मेलनका क्रममा प्रवक्ता लम्सालले भ्रमणबारे नेपाल सरकारको औपचारिक धारणा स्पष्ट पार्दै भ्रमण अपेक्षित रहेको जानकारी दिएकी हुन्।