संघीय संसदले आज उपसभामुख पाउँदै, यस्तो छ अंकगणित

काठमाडौं ।संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ ।

 

 

 

उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ ।

 

 

उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ ।

 

 

 

 बहुमतका आधारमा निर्वाचित भएको घोषणा सभामुखबाट हुनेछ । ६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

 

 

त्यस्तै प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् ।

 

 

बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।

 

 

 

गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् ।

 

 

गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।

 

 

कांग्रेस, माओवादी र नेकपा एसको मत नै सत्ता गठबन्धनलाई जित्न पुग्ने देखिन्छ ।