दैनिक पाँच रुपियाँमा तरकारी
काठमाडौँ । अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि पाइँदैन । फोसामा खुर्सानी माग्दा तरकारी बिक्रेताले आँखा तरेर हेर्न थाल्छन् ।
अनि एक छाक तरकारी पाँच रुपियाँमा पाक्ला त रु तर तीनधारा पाकशालामा आवासीय रूपमा बस्दै आएका विद्यार्थीलाई अझै पनि तरकारीबापत दैनिक पाँच रुपियाँ खान्की तोकिएको छ ।
सुरुदेखि नै ती विद्यार्थीका लागि दाल, भात, तरकारी र दैनिक एक तोला घिउको खान्की कायम रहँदै आएको छ ।
दाल र भात नेपाल संस्कृत विश्वविद्यालयले नै ठेकेदारमार्फत उपलब्ध गराउने गरेको छ भने तरकारी र घिउका लागि पाकशालालाई रकम उपलब्ध गराइन्छ ।
दैनिक एक तोला घिउका लागि २५ रुपियाँ उपलब्ध गराइन्छ । बजारमा प्रतिकेजी घिउलाई सरदर एक हजार दुई सय रुपियाँ पर्छ । सो मूल्यअनुसार एक तोला घिउलाई करिब १४ रुपियाँ पर्छ ।
तीनधारा पाकशालाका सुपरिवेक्षक डा. प्रकाश ढकालले बिहान–साँझको दुई छाक खानामा तरकारी र घिउका लागि दैनिक ३० रुपियाँ उपलब्ध हुँदै आएको बताउँदै भन्नुभयो, “तरकारी र घिउका लागि दिइएको रकम मिलाएर छाकको १५ रुपियाँले पुग्ने तरकारी खुवाउने गरिएको छ ।
महँगो तरकारी किन्न पुग्दैन । सस्तो सस्तो तरकारी खोज्नुपर्छ । घिउ खान चाहने विद्यार्थीले घरबाटै ल्याएर आउनुपर्ने हुन्छ । तरकारीमा हाल्ने मरमसला पनि त्यही रकमबाट पु¥याउनुपर्ने हुन्छ ।
धीरशमशेरले १९३८ सालमा संस्कृत पाठशालाका विद्यार्थीका लागि पाकशालाको व्यवस्था गरिदिएका थिए । उनका छोरा वीरशमशेरले थप विद्यार्थीका लागि आवास र खानाको प्रबन्ध गरिदिए । त्यो बेला १०८ जना विद्यार्थीको दरबन्दी कायम थियो ।
राणाकालमा तीनधारा पाकशालालाई ‘गुठी’ भन्ने चलन थियो । गुठीमा बस्न त्यो बेला प्रधानमन्त्रीसम्मको ‘सोर्स’ चाहिन्थ्यो । यो खबर गोरखापत्र दैनिकमा छ ।