प्रचण्ड–बाबुरामबीच पार्टी एकताबारे आज पनि छलफल गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच आज (बिहीबार) पनि छलफल हुने भएको छ।

 

 

 

कम्युनिस्ट घटकबीच एकताका लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग छलफल जारी राखिरहँदा भट्टराईसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। भेटमा दुई नेताबीच पार्टी एकताकै विषयमा समेत छलफल हुनेछ।

 

 

यसअघि प्रचण्ड र भट्टराईबीच मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा एक घण्टा छलफल भएको थियो।

 

 

 

भेटमा प्रचण्डले भट्टराईलाई एकतामा आउन आग्रह गरेका थिए। तर, भट्टराईले माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका विषय सार्वजनिक भएको थियो।

 

 

 

जसपामा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि जसपा पुनर्गठन प्रयास गरिरहेका भट्टराई पनि प्रचण्डसँग सकारात्मक रहेको स्रोतको दाबी छ।

 

 

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा प्रचण्ड– बाबुराम भट्टराईबीच पटक पटक छलफल भएको थियो।

 

 

यसअघि प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल गरेका थिए।

 

 

 

 

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

 

 

 

 

भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए।

 

 

 

उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पारे।