साफ यू -२० च्याम्पियनसिपमा नेपाल र बंगलादेशको बराबरी, नेपालको फाइनल यात्रा कठिन
काठमाडौं । भारतमा भइरहेको साफ यू -२० च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेलेको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालमा भएको खेलको दोस्रो हाफमा तनावग्रस्त र प्रतिस्पर्धात्मक बनेको थियो।
बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे । दोस्रो हाफमा नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएपछि बेञ्चमा रहेका रोहितले पनि रातो कार्ड पाएका थिए ।
बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक छ ।
नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेल कुर्नुपर्नेछ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाएपनि सफल हुन सकेन । खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।