आज दिउँसो यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
हाल मौसमको अवस्था देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श
देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।