काठमाडौँ महानगरपालिकाले दुई दिनभित्र फोहोर उठाइसक्ने

काठमाडौं। संकलन भएको लामो समयसम्म पनि पूर्ण रुपमा उठ्न नसकेको काठमाडौँ महानगरपालिको फोहोर अब भने सबै उठाइने भएको छ।

 

 

अब दुई दिनभित्रै काठमाडौँ उपत्यकामा रोकिएर रहेको फोहोर उठिसक्ने महानगरपालिकाले जनाएको छ।

 

 

फोहोर बिसर्जन गर्ने विषायमा मेयर बालेन शाह र बञ्चरेडाडाँका स्थानीयबीच सशर्त सहमति भएको भएपनि स्थानीयले विभिन्न बहानामा फोहोर बिसर्जनमा अवरोध गर्दा प्रभावित भएको फोहोर व्यवस्थापन कार्य अब भने सहज ढंगबाट हुने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

 

 

 

उनका अनुसार उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दाबढी ट्रक र टिपर प्रयोग भइरहेका छन्। यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन्।

 

 

 

प्रवक्ता मानन्धरका अनुसार निजी क्षेत्रको सहयोगले उपत्यकाको फोहोर व्यवस्थापनमा निकै सहज भएको छ। महानगरसँग फोहोर फाल्ने पर्याप्त कन्टेनर नभएको अवस्थामा निजी क्षेत्रबाट ट्रक तथा टिपरको सहयोग मिलेकाले फोहोर व्यवस्थापन छिटो हुने उनको भनाइ छ।

 

 

 

पछिल्लो तीन दिनयता स्थानीयले अवरोध पनि गरेका छैनन्। उनीहरूले आफ्ना माग पूरा गर्न पाँच दिनअघि एक साताको समय दिएका थिए।

 

 

 

यद्यपि, महानगरले सात दिनमा माग पूरा नगरे फोहोर व्यवस्थापनमा पुनः अवरोध गर्ने स्थानीयले बताएका छन्।

 

 

 

काठमाडौँको दरबारमार्ग, कमलादी, पुतलीसडक, मैतीदेवी, गौशालालगायत क्षेत्रका फोहोर आइतबार उठाइएको छ।

 

यी स्थानबाट दुई सय ५० वटा गाडी फोहोर बन्चरेडाँडा पुर्‍याइए महानगरले जनाएको छ।