आज दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न भागमा आज पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
काठमाडौं उपत्यकामा आज बिहानैबाट पानी परिरहेको छ । काठमाडौंको मौसम आज दिनभर बदली रहने मौसमविदले जानकारी दिएका छन् ।
आज बिहान सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा प्रदेश १ र वागमती प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेका प्रदेशका भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशका भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।