सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध असोज ७ गतेभित्र उजुरी दिन आह्वान

काठमाडौं।सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी वा सूचना भए संघीय संसदको संसदीय सुनुवाइ समितिमा पठाउन आग्रह गरेको छ।

 

न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो।

 

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष सूचना वा उजुरी दिन सकिने छ।

समितिले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिनेछ।

 

७७ वटै जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले यस सूचनालाई जिल्ला प्रशासन कार्यालयलगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय एवं सार्वजनिक स्थलहरूमा टाँस्ने व्यवस्था गर्न पनि समितिले आग्रह गरेको छ।

 

गत भदौ २१ को न्यायपरिषदको बैठकले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्।

 

परिषद्ले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई न्यायाधीशमा सिफारिस गरेको हो। दीक्षित हाल उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश छन्।

शर्मा उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीश छन्। पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन्। हालै उनले वरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए।