अनशनरत डा. केसीको जीवन रक्षा गर्न रेजिडेन्ट्स डक्टर्सको माग

काठमाडौं। अनशनरत प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न गर्न रेजिडेन्ट्स डक्टर्सले सरकारसँग माग गरेका छन्।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशन त्रिवि शिक्षण अस्पताल, रेजिडेन्ट एसोसिएशन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ६ दिनदेखि धनगढीमा अनशन बसिरहेका केसीका माग पूरा गर्न आग्रह गरेका हुन्।

 

विज्ञप्तिमा भनिएको छ, ६ दिन बितिसक्दा समेत कानमा तेल र आँखामा पट्टी बाँधेर बस्ने सरकारको रबैयाप्रति आवासीय चिकित्सकहरूको देशव्यापी रहेका सम्पूर्ण संगठनहरूका तर्फबाट घोर निन्दा प्रकट गर्दछौँ।

तत्काल वार्ता गरी उहाँका सम्पूर्ण मागहरू पूरा गर्दै डा.केसीको जीवन रक्षाको समेत माग गर्दछौँ। हाम्रो यो सरोकार र मागलाई तत्काल सम्बोधन नगरिए देशव्यापी आफ्नो ड्युटीबाट समेत अलग भई आन्दोलनमा होमिने चेतावनी दिन चाहन्छौँ।

उनीहरूले केसीका माग पूरा नगरेर अनशन लम्बिदै गए आफूहरू सेवा दिन छोडेर आन्दोनमा उत्रिने समेत चेतावनी दिएका छन्।