गर्भवती र सुत्केरीलाई उपहार कार्यक्रम प्रभावकारी बन्दै
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ ।
गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले उपहार दिन थालिएपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको छ ।
“तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एक वटा कुखुराको भाले दिने गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख बरुवालले भन्नुभयो, “सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा दिन्छौँ ।
आर्थिक वर्ष २०७८र७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ ले संस्थागत प्रसूति सेवा लिएका छन् । उनीहरु मध्य ४५ जना पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । आठ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् ।
वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ ।
आव २०७८/७९ मा रु छ लाख विनियोजन भएको यो कार्यक्रमका लागि चालु आव २०७९/८० मा पनि ? छ लाखनै विनियोजन गरेर निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।
गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो ।रासस