आज पितृपक्षको अन्तिम दिन,सोह्रश्राद्ध विसर्जन गरिँदै

काठमाडौँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ ।

असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ ।

पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् ।

मिथिलामा पितृ विसर्जन गर्ने परम्पराअनुसार आज जिल्लाका जलेश्वरस्थित जलेश्वरनाथ माहादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायणस्थान, जलेश्वरकै पुरन्दर, वरुण र भार्गव सर (तलाउ), बलवा नगरपालिकाको ध्रुवकुण्ड र भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थानमा तर्पण र पिण्ड दिँदै श्राद्ध गर्नेहरूको सघन जमघटले यी तीर्थस्थल एकाबिहानै भरिभराउ देखिएका छन् ।

त्यसैगरी रातु नदीको किनार, बर्दिबास नगरपालिकाको टुटेश्वरस्थान नजिकको मरहाघाट र बर्दिबास नगरपालिकाकै धार्मिक एवं पुरातात्विक महत्वको स्थल मानिएको राइमण्डलमा पनि पितृ विसर्जन गर्न श्रद्धालु भेला भएका छन् ।

मिथिलामा पितृपक्षमा गया श्राद्धको निकै महिमा छ । यसअनुसार आर्थिकरूपले सावगास हुनेहरु तीर्थश्राद्ध गर्न भारतको विहार राज्यमा पर्ने पुनपुन र गयास्थित फाल्गु नदी किनारमा जाने गर्छन् । शारीरिक र अन्य आर्थिक कारणले तीर्थ जान नसक्नेले भने घरैमा तर्पण र पिण्डदान गरेर पितृस्मरण गर्छन् ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आज तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् ।

यजमान (श्राद्ध गर्ने कर्ता)को भीड बढेसँगै पुरोहित (कर्मकाण्डि ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ । कर्तापिच्छे गोत्र, नाम र पितृहरूको फरक–फरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई पनि भ्याइनभ्याइ परेको हो ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्धसमेत)का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ ।

पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन (पिताको भए अष्टमी र माताको भए नवमी तिथिमा गर्नपर्ने कर्मकाण्डी विधान पनि छ) गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिन्छन् ।

यद्यपि औँसीकै दिन पितृपक्ष समाप्त भए पनि अन्तिम श्राद्ध मातामह (मावली हजुरबा)को श्राद्ध भने असोज शुक्ल प्रतिपदामा गरिने विधान पनि रहेको बर्दिबास–२ का पण्डित महेशकुमार झाको भनाइ छ ।

दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन् ।

वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामना गरिएजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्राह्मण जिल्लाकै भङ्गाहा नगरपालिका–३ का बासिन्दा विष्णुप्रसाद शर्मा बताउनुहुन्छ ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।