नेपाली सेनाले शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गर्दै, हालसम्म १ लाख ४१ हजार बढी ‘शान्ति पदक’ प्राप्त
काठमाडौँ। नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु-याएवापत हालसम्म १ लाख ४१ हजार २ सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो ।
शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसङ्घले शान्ति पदक प्रदान गर्ने चलन छ ।संयुक्त राष्ट्रसङ्घको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ ।
विश्वकै सैनिक इतिहासमा सहासिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल सावित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो बरियतामा छ।
विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनामा तीन सय ६९ महिलासहित पाँच हजार छ सय २३ नेपाली सुरक्षाफौज तैनाथ रहेका सेनाको शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घको शान्तिकार्यमा लेवनानमा पहिलोपटक सन् १९५८ मा संलग्न भएको सेनाले यसबीचमा द्वन्द्वरत विभिन्न राष्ट्रमा स्थापना भएका ४४ शान्ति मिसनमा काम गरेको अनुभव बटुलिसकेको छ ।
विश्वका कयौँ द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने सिलसिलामा परिचालित हुँदा अहिलेसम्म ७१ सैनिकले वीरगति प्राप्त गरेका छन् भने घाइते सैनिकको सङ्ख्या ६६ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सैनिकलाई संवेदनशील र महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाका लागि खटाउँदै आएको छ ।
सेनाका सकल दर्जाले प्राप्त जिम्मेवारीलाई उच्च मनोबलकासाथ कार्यसम्पादन गरेकै कारण राष्ट्रसघबाट पटक–पटक पुरस्कार, कदरपत्र र सम्मानसमेत प्राप्त भएको छ ।
द्वन्द्वग्रस्त मुलुकमा खटिएका सेनाका बीचमा नेपाली सेना स्थानीयवासीको रोजाइमा पहिलो नम्बरमा पर्दै आएको छ । नेपालको शान्ति र असंलग्नता नीतिप्रतिको प्रतिबद्धता, नेपाली सेनाको अनुशासन र कर्तव्य परायणका कारण संयुक्त राष्ट्रसङ्घ र स्थानीयको रोजाइमा पर्दै आएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।
नेपाली सेना जुनसुकै समयमा विश्वका कुनै पनि देशमा तत्कालै परिचालित भएर आफ्नो सैनिक व्यावसायिक, अनुशासित र साहस प्रदर्शन गर्न सक्षम भएकाले छनोट सूचीमा प्राथमिकतामा पर्दै आएको हो ।
द्वन्दका कारण शान्ति सुरक्षा र आर्थिक अभावमा छटपटाइरहेका स्थानीयवासीलाई मानवीय सहायता प्रदान गर्दै उनीहरूलाई विश्वासमा लिएर शान्ति कायम गर्ने अभियानमा नेपाली सेना अभूतपूर्व सफलता हासिल गर्दै आएको छ ।
हाल नेपाली शान्ति सेना सिरिया, पश्चिम सहारा, माली, कङ्गो, सेन्ट्रल अफ्रिका, लेबनान, इराक, इजरायल, यमन, सुडान, दक्षिण सुडान र लिवियास्थित शान्ति मिसनमा तैनाथ छ ।
पछिल्ला वर्षमा संयुक्त राष्ट्रसङ्घबाट शान्ति सेनाको फोर्स कमाण्डको जिम्मेवारीसमेत नेपाली सेनालाई लगातार उपलब्ध हुँदै आएको छ ।यसअघि सात जनाले उक्त जिम्मेवारी सफलताकासाथ पूरा गरिसक्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घलाई नेपाल सरकारले आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जाहेर गरिसकेको छ ।
शान्ति सेनामा खटिएवापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ। हाल उक्त कोषमा रहेको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाखको मुख्य स्रोत भनेकोे शान्ति मिसन नै हो।
उक्त कोष शान्ति सेनामा सहभागी भएवापत संयुक्त राष्ट्रसङ्घबाट प्राप्त रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना गरिएको थियो।
कोषको रकमको ब्याजबाट सेनाले आफ्ना १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सुविधा तथा सहुलियत र सीप एवं स्वरोजगारका लागि सहयोग प्रदान गर्दै आएको छ।