भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निणर्य लिने बताइएको छ ।

एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ । हालसम्मको सहमति अनुसार माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८४ सिट लिने सहमति भएको छ।

गठबन्धनको बैठक पटक-पटक बसे पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा सहमति जुट्न अझै बाँकी छ । केही निर्वाचन क्षेत्रमा दोहोरो दाबेदारी रहेका कारण सहमति जुट्न सकेको छैन ।