कोरोनापछि १ बर्षमै २९ हजार कम्पनी दर्ता,कुन बर्षमा कति थपिए?

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ ।कम्पनी रजिष्टारको कार्यालयलाई उदृत गर्दै अर्थ मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार यस्तो पाइएको हो ।

यसबीचमा सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत यस्तो ट्रेण्ड देखिएको हो ।मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएका छन् ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.३ प्रतिशतले धेरै हो । सो आवमा २६ हजार ४९८ वटा कम्पनी दर्ता भएका थिए । उता, आर्थिक वर्ष २०७६/७७ मा १८ हजार ६२८ वटा कम्पनी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।

तथ्यांक अनुसार कोभिड महामारीपछि कम्पनी दर्ताको बाढी देखिएको हो ।आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा कम्पनी दर्ता ४२.२ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालमा प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा एक जनादेखि बढीमा १०१ जनासम्म र पब्लिक लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा ७ जना संस्थापक सेयरधनी रहनु पर्ने प्रावधान छ ।

कम्पनी स्थापना गरिसकेपछि कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर्नु अघि अनुमति वा इजाजत लिनुपर्ने निकायबाट त्यस्तो इजाजत प्राप्त गर्नुपर्छ ।

नियमनकारी निकायहरुले कम्पनीहरुलाई यस्तो इजाजत दिने गर्छन् । कम्पनीले अनुमति वा इजाजत लिनु अघि आन्तरिक राजस्व कार्यालयबाट स्थानीय लेखा नम्बर लिनुपर्छ ।

कुन आवमा कति थपिए ?

आव २०७६/७७ :- १८६२८

आव २०७७/७८ :- २६४९८

आव २०७८/७९ :- २८९५७