समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक, कुन प्रदेशमा कति उम्मेदवार (सूचीसहित)

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन तर्फकाे दलहरूले पेश गरेको बन्दसूची सार्वजनिक गरिएको छ।

आयोगले जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको छ ।उक्त बन्दसूची आयोगको वेभसाइट https://election.gov.np/np/page/final-closed-list मा गएर हेर्न सकिने जनाएकाे छ।

 प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ को लागि ६१६ जना, मधेश प्रदेशको लागि ८६३ जना, बागमती प्रदेशको लागि ७५४ जाना, गण्डकी प्रदेशको लागि ३४४ जना, लुम्बिनी प्रदेशको लागि ५७९ जना, कर्णाली प्रदेशको लागि २०० जना र सुदुरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवारहरु रहेका छन् ।

सो समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ ।

उक्त प्रणालीतर्फका लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवारहरू रहेका थिए ।